वि.सं.: २०८३, जेठ ५ मंगलबार
इ.स.: 2026 May 19,TUESDAY
वि.सं.: २०८३, जेठ ५ मंगलबार
विगतका अभ्यास तथा सिकाइ र आगामी कार्य दिशामा पृष्ठपोषण संकलन गर्दै शिक्षा विभाग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनु पर्ने सरोकारवाला अधिकारीहरुले बताउनुभएको छ । महानगरपालिकाको शिक्षा विभागले पुस्तक रहित शुक्रबार कार्यक्रमको समीक्षा गर्न आयोजना गरेको कार्यशालामा यस्तो सुझाव आएको हो ।
महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ र कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यार्थीहरुको संख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा विषय र उपसमूह निर्धारण गरिएका छन् । यसरी सञ्चालन गरिएका कार्यक्रमबाट प्राप्त भएका उपलब्धीको मापन गर्ने, प्राप्त नतिजा तथा सिकाइलाई संस्थागत रुपमा विकास गर्ने, साझेदारको पृष्ठपोषणलाई चालु शैक्षिक सत्रको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि आधार लिने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
समीक्षामा बोल्दै विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकहरुले विद्यालयलाई आत्मनिर्भर र शिक्षकहरुलाई क्षमता विकास गराउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।
‘गएका शैक्षिक सत्रमा सञ्चालन गरिएका कार्यक्रमको सवल र दुर्वल पक्ष जान्नका लागि हामीले समीक्षा कार्यक्रम गरेका हौँ ।’ कार्यक्रममा बोल्दै महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘हामी कार्यान्वयन योग्य नीति कार्यक्रम बनाउन चाहन्छौँ । यसका लागि जो कार्यान्वयन तहमा हुनुहुन्छ । उहाँहरुले कस्ता कार्यक्रम कार्यान्वयन गर्न सक्नुहुन्छ । उहाँहरुको धारणा र क्षमता वुझेर त्यही प्रकारका नीति र कार्यक्रम तर्जुमा गर्छौँ । यसले नतिजा प्राप्त गर्न सहज हुनेछ ।’
समीक्षामा समूह विभाजन र कार्यशालामार्फत सिर्जनात्मक सिकाइ र शिक्षामा सिप कार्यक्रम सम्बन्धी छुट्टाछुट्टै पृष्ठपोषण लिइएको छ ।
‘वडाहरुलाई २ समूहमा विभाजन गरेर पृष्ठपोषण लिइरहेका छौँ ।’ शिक्षा अधिकारी नमराज ढकाल भन्नुहुन्छ,, ‘विगतका कार्यक्रमले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमताको विकास गराएको, रचनात्मकता बढाएको, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेकोले नतिजामुखी रहेको पृष्ठपोषण प्राप्त गरेका छौँ । सबैबाट पृष्ठपोषण आएपछि विश्लेषणसहितको आगामी कार्यक्रमको ढाँचा निर्धारण गर्नेछौँ ।’
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र शिक्षा नियमावली २०५९ मा विद्यार्थीलाई भविष्यमा पेसा तथा व्यवसायमा संलग्न हुन आवश्यक पर्ने व्यवहारकुशल सिपहरूलाई पाठ्यक्रमले सम्बोधन गर्नुपर्छ भन्ने मर्म बोकेको छ ।’ छलफलमा प्रस्तुतिकरण गर्दै शिक्षा अधिकृत केशव ज्ञवालीले भन्नुभयो, ‘सङ्घीय सरकारका अलावा प्रदेश र स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्था, समुदायमा आधारित सिप विकास कार्यक्रमसँग आबद्ध निकायहरूसँग समन्वय र साझेदारी गरेर रोजगारउन्मुख शिक्षा प्रवर्धन गर्ने पाठ्यक्रम सम्बन्धी नीतिको व्यवस्थालाई कार्यरूप दिन महानगरपालिकाले सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रम प्रभावकारी छ ।’ उहाँले, परिवर्तित सन्दर्भमा कुरा गर्दै शनिवार र आइतबार विद्यालय विदा गर्ने नेपाल सरकारको निर्णयका आधारमा विगतका कार्यक्रम सञ्चालनको प्रारुपका सन्दर्भमा थप निर्णय हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।
शिक्षा नियमावली २०५९ ले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको विकासका लागि शुक्रबारको दैनिक पठनपाठनको कार्य समाप्त भएपछि चित्रकला, हस्तकला, बाद्यबादन, नृत्य, नाटक, वक्तृत्वकला, हाजिरी जवाफ, हिज्जे, साहित्यिक क्रियाकलाप गर्नु पर्ने व्यवस्था गरेको छ ।
विद्यालयले कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि ८३२ घण्टा, ४ देखि ८ सम्मका लागि १ हजार २४ घण्टा र कक्षा ९ र १० का लागि १ हजार १८४ घण्टा कक्षा सञ्चालन गर्नुपर्छ । वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदी भन्नुहुन्छ, ‘महानगरपालिकाले शैक्षिक तथा सिपमूलक कार्यक्रमलाई समुदायसँग जोडेर अगाडि बढाउन कार्यक्रमलाई जोड दिएको छ ।’
गएको वर्ष सिर्जनात्मक सिकाइ अन्तर्गत २३ वटा विषयमा ७०५ वटा उपसमूहमा क्रियाकलाप सञ्चालन भएका थिए । वरिष्ठ विद्यालय निरीक्षक विनिता महतका अनुसार सबैभन्दा धेरै विद्यार्थीको रुचि वातावरण र बालबालिका (वावा) उपसमूहमा थियो । त्यसपछि स्टीम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार) उपसमूह र तेस्रोमा नृत्य उपसमूहमा थियो । यी समूहहरुमा क्रमशः ८२ वटा, ७४ वटा र ६७ वटा उपसमूह गठन गरिएका थिए । निर्धारित विषयमध्ये धाः बाजा वादनमा विद्यार्थीहरुको रुचि देखिएन । यसकारण यो विषयमा कुनै पनि उपसमूह गठन भएन । थोरै उपसमूह गठन भएका विषयहरुमा डम्फु, हस्तकला हुन् । यी विषयमा क्रमशः ४ वटा र ६ वटा उपसमूह गठन भएका थिए । तेस्रोमा बाँसुरी र कथावाचनमा १०-१० वटा उपसमूह गठन गरिएका थिए ।
२३ वटा विषयमा स्काउट, वावा, व्यक्तित्व विकास, स्टीम, उद्यमशील सोच, पठन संस्कार, योग र ध्यान, विपद व्यवस्थापन, भित्ते चित्र (म्युरल आर्ट), कोडिङ्, संस्कृति र सम्पदा, चलचित्रको दृष्टिकोणबाट सिकाइ, हस्तकला, अबाकस, कथावाचन, नृत्य, गायन, बाँसुरी, मादल, धिमे, धाः बाजा, डम्फु र नाट्य थिए ।
शिक्षामा सिप तर्फका कार्यक्रमका १० वटा विषय थिए । व्युटिसियन एण्ड हेयर स्टाइल, चित्रकला र मूर्तिकला, कार्पेन्ट्री र उड कार्भिङ्, प्लम्बिङ्, इन्डिजिनस र कन्टेम्पोररी मेसिनरी - डिजास्टर रेडीनेस, हाउस वायरिङ्, मोवाइल एण्ड इलेक्ट्रोनिक्स, कुलिनरी आर्टस्, एग्रीकल्चर एण्ड अर्वन फार्मिङ् र फेसन डिजाइन र टेलरिङ् विषय थिए ।
महतका अनुसार यी विषयमध्ये व्युटिसियन एण्ड हेयर स्टाइलमा सबैभन्दा बढी, कुलिनरी आर्टसमा ४१ वटा, मोवाइल एण्ड इलेक्ट्रोनिक्समा २७ वटा उपसमूह गठन भएका थिए । इन्डिजिनस र कन्टेम्पोररी मेसिनरी - डिजास्टर रेडीनेसमा विद्यार्थीको रुचि देखिएन । यसकारण कुनै पनि उपसमूह गठन भएनन् । एग्रीकल्चर एण्ड अर्वन फार्मिङ्, कार्पेन्ट्री र उड कार्भिङ् र प्लम्बिङ् ३ विषय विषयमा ३-३ वटा उपसमूह गठन भएका थिए ।
यी कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले ६ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमा सिर्जनात्मक सिकाइका लागि ३ करोड रुपियाँ, शिक्षामा सिपका लागि १ करोड ५० लाख रुपियाँ, सिर्जनात्मक सिपतर्फको संगीत विधाको प्रशिक्षणका लागि सांस्कृतिक संस्थानसँग सहकार्य गर्न ५० लाख रुपियाँ, सिर्जनात्मक सिपतर्फकै भित्ते चित्र (म्युरल आर्ट) र शिक्षामा सिपतर्फ स्केचिङ एण्ड स्कल्प्चर विषयको प्रशिक्षणका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न १ करोड रुपियाँ विनियोजन गरिएको थियो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App