Logo

विद्यालय शिक्षासँग उत्पादन, रोजगार तथा सीपमुलक तालिम जोड्ने प्रयासमा छौँ — उपप्रमुख डंगोल

विद्यालय शिक्षासँग उत्पादन, रोजगार तथा सीपमुलक तालिम जोड्ने प्रयासमा छौँ — उपप्रमुख डंगोल

काठमाडौँ । विद्यालय उमेरका बालबालिकालाई जीवनशैली, उद्यमशीलता र रोजगारसँग सम्बन्धित विषयमा सीपमुलक तालिम दिएर जीवन उपयोगी बनाउने महानगरको योजना रहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । उद्यमशीलताका लागि छोटो अवधिको सीपमुलक तालिम सञ्चालन सहकार्य गर्न ग्लोकलले राखेको प्रस्तावका सन्दर्भमा कुरा गर्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । ग्लोकल शिक्षा, उद्यमशीलता र सीपमुलक तालिमका क्षेत्रमा काम गर्ने संस्था हो ।   

‘महानगरका सामुदायिक विद्यालयहरुमा विपन्न परिवारका बालबालिकाको संख्या धेरै छ । उनीहरुको आवश्यकता अन्य बालबालिकाकोभन्दा फरक हुन सक्छ । अवसरमा उनीहरुको पहुँच नहुन सक्छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘ती बर्गका बालबालिकालाई नियमित कक्षाका साथै आवश्यकतामा आधारित सीपमुलक र उद्यमशीलताका कक्षा चलाउन सकियो भने जीवनस्तर सुधारमा ठूलो सघाउ पुग्छ ।’

‘यसरी प्रदान गरिने शिक्षामा दबाब नहोस्, बालबालिकामा स्वस्फूर्त चाहना होस् । यसबाट नतिजा प्राप्त गर्न र उपलब्धी मापन गर्न सजिलो हुन्छ ।’ उपप्रमुख डंगोलको जोड थियो । 

‘औपचारिक शिक्षाको शुरुवात शिशु अबस्थादेखि नै हुन्छ । पूर्व बाल्याबस्थासम्मका कक्षामा उद्यम र रोजगारमुलक सीप तथा सिकाइ आवश्यक पर्दैन । त्यसबेला जीवनउपयोगी सामान्य ज्ञान दिन सकिन्छ ।’ भेटका क्रममा महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले प्राविधिक जनशक्तिको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, ‘प्लम्बरको कमाई राम्रो हुन्छ । तर, उसको कामलाई सम्मानजनक रुपमा हेरिँदैन । यस्ता सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउन पनि नयाँ कार्यक्रम आवश्यक छ ।’
जुत्ता लगाउने, आफू सुत्ने विछ््यौना मिलाउने, फोहोर व्यवस्थापन गर्ने, आफूले बोक्ने झोला मिलाउने, आफूलाई सफा राख्नेजस्ता सामान्य सीप पूर्ववाल्याबस्थादेखि नै सिकाउन सकिन्छ । विद्यमान शिक्षा प्रणालीमा यस्ता सीप सम्बन्धी विषय छुटेकाले सिकाइ अपूर्ण जस्तो देखिएको छ । बैठकमा समाज व्यवस्थापनसँग शिक्षा विकासको क्रम तुलना गरिएको थियो । 

विद्यार्थीहरुको उमेर हेरेर कक्षा १ देखि ५, कक्षा ६ र ७ तथा कक्षा ८ देखि १२ सम्मलाई ३ समूहमा बाँडेर पाठ््यक्रम तयार पार्ने हाम्रो योजना छ । छलफलका क्रममा महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले भन्नुभयो, ‘चालु आर्थिक बर्षमा कार्यक्रम सञ्चालन गर्ने गरी बजेटको व्यवस्था गरिएको छ ।’

छोटो अवधिको सीपमुलक तालिमअन्तर्गत धेरै कामको कौशल सिकाउन सकिन्छ । स्वरोजगारमुलक सीप सिकाउनु अहिलेको जरुरी हो । छलफलमा ग्लोकलका अध्यक्ष आशिष ठाकुरले, डिजिटल मार्केटिङ्, क्रियटिभ राइटिङ्, ग्राफिक्स डिजाइनिङ्, व्युटिसियन, कुकिङ्, मोवाइल रिपेयरिङ्, वेटर/वेटे«सजस्ता विषयमा हार्ड स्कील र सफ्ट स्कील (कडा र नरम दुवै खालका कौशल) सिकाउनुपर्छ । 

शिक्षण तालिमले कति परिवर्तन ल्यायो?

प्रभावकारी शिक्षणका लागि शिक्षकको क्षमता विकास हुनु पर्छ । तर, तालिम लिएपछि शिक्षकको कक्षामा कति परिवर्तन आएको छ? अव अध्ययन विश्लेषण गर्नुपर्छ । उपप्रमुख डंगोलले आजै कारखानाका प्रतिनिधिहरुसँगको भेटका क्रममा भन्नुभयो, ‘सिकाइ गर्ने ठाउँको अवस्था विश्लेषण नगरी तालिम लिनु, आफूले लिएको तालिमसँग सम्बन्धित ज्ञान र सीप अरुलाई नभन्नुजस्ता कारण शिक्षकले लिएको शिक्षण तालिम उपलब्धीमुलक देखिएन । अब शिक्षण स्थलमा नै तालिमको प्रबन्ध गर्नुपर्छ ।’

विद्यार्थीले परीक्षामा प्राप्त गर्ने नतिजा अगाडि हरेक कक्षाको प्रभावकारिता मापन गर्नुपर्ने अवस्था छ । शिक्षा सल्लाहकार अर्यालले भन्नुभयो, ‘कक्षा कोठामा जानुअघि शिक्षकले गरेको पूर्व तयारी, कक्षा कोठा व्यवस्थापन, विषयलाई रुचीकर बनाउन गरिने क्रियाकलाप तथा सामग्रीको संयोजनले कक्षा रमाइलो हुन्छ । यसले विद्यार्थी र शिक्षक दुवैको आत्मविश्वाश बढ्छ । आफ्ना तहका समस्या आफैँ समाधान गर्न सक्ने क्षमता हुन्छ । अवको शिक्षण पद्धति यसतर्फ केन्द्रीत हुन्छ ।’

भेटका क्रममा कारखानाका कार्यकारी निर्देशक सचेत मानन्धरले, काठमाडौँ महानगरपालिकाले शिक्षण विधिमा नविनतम प्रयोगलाई प्रबर्धन गर्नुपर्ने धारणा राख्नुभयो । ‘हामी शिक्षण सामग्री तथा विधिको ढाँचा निर्माण गर्ने, पाठ, पाठ्यक्रम, र कक्षा कोठाभित्र गर्न मिल्ने क्रियाकलापहरुमा शैक्षिक संस्थाहरुलाई सहयोग गर्र्दै आएका छौँ । यसमा महानगरसँग सहकार्य गर्ने हाम्रो चाहना हो ।’ मानन्धरको भनाइ थियो । 

त्यस क्रममा महानगरले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरेको आविष्कार केन्द्र (स्टीम क्लव र आविष्कार मेला), स्थानीय भाषाको अध्ययन अध्यापनलगायत विषयमा कुराकानी भएको थियो ।     

शैक्षिक क्षेत्रको सुधारका लागि धेरै काम छन् । यसैभित्र राम्रो र प्रवर्धन गर्नुपर्ने सिकाइ पनि छन् । क्षमता नभएर होइन । टुक्रा टुक्रामा काम गरेर उपलब्धी देखिएन । अब साझेदारहरुका विचमा सञ्जाल निर्माण र गर्नु पर्ने कामको आवश्यकता विश्लेषण गरेर एकीकृत कार्यक्रम सञ्चालन गर्ने छलफलले निचोड निकालेको थियो । 

 

 

  • प्रकाशित मिति: शुक्रबार​ २८ असोज २०७९ १९:००