वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
नागरिकलाई सेवा लिन आउँदा घरमै पुगेको अनुभूति हुनेछ - उपप्रमुख डंगोल
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले विहीबार एकै दिन ३ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ । महिला सञ्जालले आयोजना गरेको स्थानीय न्याय संवाद कार्यक्रमको अवसरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘मेलमिलाप केन्द्र’, ‘एकल सेवा केन्द्र’ र ‘स्वास्थ्य प्रवर्धन केन्द्र’को उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा वडाले उपप्रमुख डंगोललाई स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुभएकोमा वडाबासी र वडाकातर्फबाट अभिनन्दन प्रदान गरेको थियो । यस्तै टेवुलटेनिसका विभिन्न स्तरमा भएका प्रतियोगिता विजेता इन्दिरा पौड्याल पराजुलीलाई वडाको गरिमा बढाउन योगदान दिएकोमा सम्मान गरिएको थियो । यस्तै वडा कार्यालयको प्रशासकीय भवन निर्माणमा योगदान गर्नुहुने महानगरपालिकाका पूर्व विभागीय प्रमुख शान्ताराम पोखरेलसहित पूर्वजनप्रतिनिधि, स्थानीय राजनीतिक व्यक्तित्वहरुलाई कदर प्रदान गरिएको थियो ।  
उद्घाटनपछि कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, यी केन्द्रहरुबाट प्रवाह हुने सेवाले नागरिकलाई सरकारी कार्यालयमा सेवा लिन गएको अनुभूति होस् भन्ने चाहना छ । ‘महानगरपालिकाभित्रका सबै विवाद केन्द्रमा आए भने चाहेर पनि सहज न्याय प्रदान गर्न नसकिन सक्छ । यसकारण पदवहालीसँगै मैले वडास्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने र वडा स्तरीय महिला सञ्जाल गठन गर्ने निर्णय गरेकी थिएँ । आज सबै वडामा दुवै संयन्त्रले स्थापना भएर प्रभावकारी काम भइरहेको छ ।’ उहाँले महिला नेतृत्वको कुरा गर्दै भन्नुभयो, ‘यी दुईवटै प्रणाली महिलाहरुको नेतृत्वमा सञ्चालित छन् । महिलाले नेतृत्व गरे पनि जिम्मेवारी भनेको लैङ्गिक हिंसा विरुद्धका काम हो । यसमा हिंसामा परेका पुरुषहरुको कुरा पनि सुनुवाइ हुन्छ ।’
‘लोकतन्त्रको मर्म भनेको जनताको समस्या उनीहरुकै ठाउँमा समाधान गरिदिनु हो ।’ कार्यक्रममा वडा २९ का अध्यक्ष एवं न्यायिक समितिका सदस्य कुश ढकालले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य र न्यायमा नागरिकलाई सहजता प्रदान गर्ने हो भने सबैले सरकार भएको महसुस गर्न पाउँछन् ।’
पीरमर्का पर्दा प्रहरीमा जानु पर्ने विवाद अहिले आफैँले निर्वाचित गरेका जनप्रतिनिधिबाट सुनुवाई हुन्छ । लेख्न नजान्नेहरुका लागि न्यायिक सहजकर्तामार्फत निःशुल्क रुपमा निवेदन लेख्न सहयोग गर्ने प्रणालीको विकास भएको छ । न्यायिक समितिका सदस्य आशा श्रेष्ठ रौनियारले भन्नुभयो, ‘यो महसुस योग्य अभ्यास हो ।’
महिला सञ्जालका संयोजक रेणु श्रेष्ठका अनुसार २०७९ कार्तिक १३ गते सञ्जाल गठन भए यता ९१ वटा विवाद दर्ता भएका छन् । मेलमिलाप केन्द्रका संयोजक संगीता पुजारीका अनुसार दर्ता भएका विवादमध्ये ८८ प्रतिशत मेलमिलापका माध्यमबाट समाधान भएका छन् । 
कार्यक्रममा स्थानीय न्यायिक अभ्यासका विषयमा धारणा राख्दै पूर्वन्यायाधीश साधुराम सापकोटाले, नेपालमा लिच्छवीकालदेखि प्रयोगमा आएको मेलमिलापको अवधारणा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । ‘नेपालका बर्दिया, कैलाली, कास्की, झापालगायत विभिन्न स्थानमा समुदायले आफूभित्रका विवादलाई आफैँभित्र मेलमिलापन गराउने परम्परागत रहेको उहाँको भनाइ थियो । अदालतमा विचाराधीन रहेका देवानी प्रकृतिका मुद्दाहरुलाई अदालतकै मेलमिलाप कक्षमा पठाउने चलन पनि छ । सापकोटाले अभ्यास उधृत गर्दै स्थानीय तहमा हुने मेलमिलाप सबैभन्दा प्रभावकारी हुने धारणा राख्नुभयो ।
कार्यक्रममा वडा सदस्यहरु सन्तोष ढुङ्गेल र अनिल श्रेष्ठले, वडाले विकास र सेवा प्रवाहका लागि परिचालन गर्ने स्रोतको तुलनाभन्दा धेरै माग रहेको उल्लेख गर्दै सामुदायिक लाभका योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै लगिएको बताउनुभयो । 
वडामा सेवा लिन आउने सेवाग्राहीले आफूलाई संकोच लागेको, नबुझेका तथा अस्पष्ट भएका प्रक्रिया तथा विषयमा एकल सेवा केन्द्रमा सोधपुछ गरेर आफूलाई स्पष्ट पार्न सक्नुहुनेछ । कार्यक्रममा वडा सचिव शम्भु बरालले, वडामा आएपछि एकल सेवा केन्द्रमा सम्पर्क राख्न अनुरोध गर्नुभयो ।
 








 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App