वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
‘उपचारका लागि अस्पताल बनाउनुभन्दा निरोगी हुने कार्यक्रम बढाउन खेल मैदान निर्माणमा जोड दिएका छौँ’ – वडाध्यक्ष, महर्जन
काठमाडौँ । आउँदो वर्ष (२०८३) जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले आयोजना गर्ने च्याम्पियनसिपका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’, ‘स्वास्थ्यका लागि व्यायाम’, भन्ने नारासहित च्याम्पियनसिप आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
महर्जनका अनुसार पहिलो संस्करणमा पुरुषतर्फ मात्र प्रतियोगिता गराइएको थियो । यस वर्ष भने महिलाहरुलाई एथलेटिक्स फिजिक्समा सहभागी गराइनेछ । नेपाल शारीरिक सुुगठन तथा फिटनेस महासंघसँगको सहकार्य तथा काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ ९ विधामा प्रतिस्पर्धा गराइनेछ । यस अन्तर्गत ६ वटा तौल समूह, २ वटा स्पोर्ट फिजिक्स र एउटा ओभरअल प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्स अन्तर्गत खुल्ला प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ तौल समूहमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि हुनेछ । एथलेटिक्स फिजिक्स अन्तर्गत १७० सेन्टिमिटर भन्दा माथि र १७० सेन्टिमिटरसम्म गरी दुई विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रत्येक तौल समूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारी हुनेछन् । उनीहरुले ओभरअल प्रतिस्पर्धा गर्नेछन् । ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित ५ लाख रुपियाँ नगद, ट्रफी र ब्यानेट प्रदान गरिनेछ ।
प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ । दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुनेछ ।
प्रत्येक तौल समूहका विजेतालाई १ लाख रुपियाँ नगद, पदक र प्रमाण पत्र प्रदान गरिनेछ । गएको वर्ष यसको राशी ७५ हजार रुपियाँ थियो । यस बर्ष बढाएर १ लाख रुपियाँ बनाइएको हो । तौल समूहका उपविजेता, तेस्रो, चौथौ र पाँचौँ स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः ५० हजार रुपियाँ, २५ हजार रुपियाँ, १५ हजार रुपियाँ र १० हजार रुपियाँ नगदसहितको पुरस्कार दिइनेछ ।
एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार जनही १ लाख २५ हजार रुपियाँ रुपियाँ राखिएको छ । दोस्रो, तेस्रो, चौथौ र पाँचौं स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ७५ हजार रुपियाँ, ५० हजार रुपियाँ, २५ हजार रुपियाँ र १० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
वडाले खेलकुदको विकासका लागि विभिन्न प्रतियोगिता तथा तालिम सञ्चालन गर्दै आइरहेको छ । गएको वर्ष मिस्टर महानगरलगायत सहीद सुरज स्मृति प्रथम महानगरब्यापी अन्तरवडा बुद्धिचाल प्रतियोगिता, पौडी प्रशिक्षण सञ्चालन गरिएको थियो । यस्तै विभिन्न विधाका खेलमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका वडाका भेट्रान तथा युवा खेलाडीहरुलाई सम्मान गरिएको थियो । यस वर्ष पनि विगतका कार्यक्रमलाई निरन्तरता दिइने महर्जनको भनाइ छ ।
खेल विकासका लागि वडाले गरेका कार्यक्रमका बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘स्वास्थ्योपचारका लागि पूर्वाधार बनाउनेभन्दा आरोग्य हुनका लागि आवश्यक पर्ने पूर्वाधार तयार पार्ने कामलाई प्राथमिकता दिएका छौँ ।’
गएको वर्षभन्दा यस वर्ष खेलाडीहरुका लागि तयारी गर्ने अवसर प्राप्त भएको छ । फिटनेस संघका अध्यक्ष सुरेश सुवेदी भन्नुहुन्छ, ‘खेलाडीहरुका लागि वडाले प्रदान गरेको अवसरलाई उपयोग गर्नुपर्छ । वडाको यो नेतृत्व सिकाइका रुपमा प्रवर्धन हुन सके वडावडामा यस प्रकारका प्रतियोगिता सञ्चालन हुन सक्नेछन् । यसले खेल र खेलाडीको प्रवर्धन त हुन्छ नै योभन्दा ठुलो स्वस्थ्य समाज निर्माणमा योगदान हुन्छ ।’
प्रतियोगितामा भाग लिन महानगरपालिकाभित्र स्थायी वा अस्थायी बसोबास गरेको हुनुपर्नेछ ।
त्यस क्रममा पत्रकारहरुबाट प्रश्न र सहभागीहरुबाट सुझाव लिइएको थियो । यस क्रममा सहभागीहरुले, भेट्रान प्रतियोगिता आयोजना गर्न सके खेलाडीलाई खेल जीवनमा निरन्तरता दिन सहज हुने सुझाव प्राप्त भएको छ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App