वि.सं.: २०८२, कात्तिक १० सोमबार
इ.स.: 2025 October 27,MONDAY
वि.सं.: २०८२, कात्तिक १० सोमबार
कर लिए पछि सुविधा बढाउने नीतिअनुरुप करका दर र दायरा निर्धारण गरेका छौँ — वडाध्यक्ष, डंगोल
काठमाडौँ । कर सम्बन्धी शिक्षा र सूचना पाउने करदाताको अधिकार सुनिश्चित गर्ने तथा करदाताका दायित्वका विषयमा जानकारी गराउने उद्देश्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ ले कर शिक्षा कार्यक्रम थालेको छ । कर तिर्न आउने करदातालाई करमैत्री वातावरण प्रदान गर्ने, जानकारी लिन चाहनेहरुका लागि परामर्श गर्ने र समय समयमा कर तथा राजस्व क्षेत्रका अधिकारी तथा विज्ञसँग अन्तरक्रियात्मक संवाद गरेर वडाले कर शिक्षालाई अगाडि बढाएको हो ।
हिजो (सोमबार) वडामा आयोजना गरिएको कार्यक्रममा बोल्दै महानगरपालिकाको वित्त समितिका संयोजक एवं वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले, कर लिएर सुविधा दिने नीतिअनुरुप करको दर र दायरा निर्धारण गरिएको बताउनुभयो । जापान, सिंगापुरलगायत देशहरुमा स्थानीय सरकारले संकलन गर्ने कर र प्रदान गर्ने सेवा उधृत गर्दै उहाँले भन्नुभयो, ‘सेवा पाए र कर रकमको सदुपयोग भएको सुनिश्चित भएपछि करदातालाई कर तिर्न करकर गरिरहनु पर्दैन । कर मात्र लिने सेवा नदिने भएपछि मात्र करकर गर्नु पर्ने हो । यसकारण महानगरपालिकाले नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह र सुविधा वितरण गरिरहेको छ ।’
कार्यक्रममा करको सिद्धान्त, यसको प्रचलन, करदाताका दायित्व र अधिकारलगायन विषयमा आन्तरिक राजस्व कार्यालय, कलंकीका प्रमुख कर अधिकृत धनकुमार राई, महानगरपालिकाको राजस्व विभागका प्रमुख दिपक अधिकारी र राजस्व कार्यालयका कर अधिकृत विजयप्रसाद लामिछानेले प्रस्तुतिकरण गर्नुभएको थियो ।
प्रस्तुतिपछि आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, कर छुट सुविधा, कर परीक्षण, अग्रिम करकट्टी, मिसम्याच, दर्ता, दर्ता खारेजी र स्थगनलगायत विषयमा छलफल भएको थियो । यस्तै पान नम्बर, व्यक्तिगत पान, व्यवसायिक पान, डब्लु पान (विथ होल्डिङ् पान) र यी नम्बरहरुको प्रयोग सम्बन्धी जानकारी गराइएको थियो ।
करमा पान दर्ता भएका व्यवसायीहरुले कारोबार स्थलमा ३० सेन्टिमिटर लम्बाइ र १० सेन्टिमिटर चौडाइ भएको कर पाटी राख्नुपर्छ । मूल्य अभिवृद्धि करमा दर्ता भएकाले हरियो पृष्ठभूमिमा सेतो अक्षरले पाटीको माथिल्लो भागमा फर्म, कारोबारको नाम लेख्नुपर्छ । यसको तल करदाताको पान नम्बर लेख्नुपर्छ ।
थ्रेसहोल्डभित्र वस्तु र सेवाको मूल्य अभिवृद्धि कर लाग्ने व्यवसायीले पहेँलो पाटीमा कालो अक्षरले र बस्तु वा सेवामा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवसायीले सेतो पृष्ठभूमिमा रातो अक्षरले करपाटी राख्नुपर्छ ।
छलफलमा राजस्व विभागका प्रमुख अधिकारीले पूर्वीय दर्शन उधृत गर्दै भन्नुभयो, ‘कर लिने भनेको फूलबाट मौरीले रस लिएजस्तै हो । यो प्रक्रियामा फूललाई मौरीले रस लिएको थाहा नै हुँदैन । मौरी फूलमा आएका कारण फूलको सौन्दर्य बढाउन र परागसेचन प्रक्रियामा सहयोग हुन्छ । यस्तै गरेर काठमाडौँ महानगरपालिकाले करदातालाई दरको भार नहुने गरी कर निर्धारण गर्ने नीति लिएको छ ।’
राजस्व कार्यालयका प्रमुख कर अधिकृत राईले, कर अनिवार्य दायित्व भएको उल्लेख गर्नुभयो । ‘कर लगाउने वा करको दर निर्धारण गर्ने अधिकार जसलाई पनि हुँदैन । अधिकार प्राप्त संयन्त्रबाट निर्धारण गरिएको कर तिर्दिन भन्न पाइँदैन ।’
कर अधिकृत लामिछानेका अनुसार नेपालको कर नीति स्वघोषणा नीतिमा आधारित रहेको बताउनुभयो । आफूले गरेको वास्तविक कारोवारमा आधारित घोषणा गरेर कर तिर्नुपर्ने, कारोबार ढाकछोप गर्दा करदातालाई कुनै न कुनै समयमा पुगेर व्याजसहितको हर्जानाले ठुलो भार सिर्जना हुने जोखिम हुने उहाँको भनाइ थियो ।
करदाताहरुले व्यवसायको प्रकृति र कारोबारका आधारमा तहगत सरकारका विभिन्न कार्यालयमा दायित्व निर्वाह गर्नुपर्छ । वडाबासीलाई यो विषयमा शिक्षा प्रदान गर्नुपर्छ भनेर करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको वडा सचिव प्रमोद अधिकारीले जानकारी दिनुभयो । महानगरपालिकाले दिएका छुट र अरु सुविधा कसरी थाहा पाउने संयन्त्रका विषयमा जानकारी गराइएको उहाँको भनाइ छ ।
कार्यक्रममा व्यक्ति, संघसंस्था तथा व्यवसायिक कारोबार गर्ने व्यवसायीहरुलाई बोलाइएको थियो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App