वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
स्वस्थ्य जीवनका लागि व्यायाम र खेलको विकासमा योगदान
काठमाडौँ । ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि प्राप्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले शनिवार राष्ट्रिय सभा गृहमा आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको ओभरअल विजेता भएपछि ‘मिस्टर महानगर’ को उपाधिसहित ट्रफी, मेडल, प्रमाण पत्र र नगद ५ लाख ७५ हजार रुपैयाँ (क्याटागोरी विजेताका रुपमा ७५ हजार रुपैयाँ र ओभरअल विजेताका रुपमा ५ लाख रुपैयाँ) प्राप्त गर्नुभयो । उहाँलाई प्रधानमन्त्री के. पि. शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु नै अमूल्य सम्पत्ति रहेको बताउँदै, निरोगी जीवन प्रवर्धनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो । ‘आरोग्य जीवनका लागि सरकारदेखि समुदायसम्म सबैका आफ्नाआफ्नै भूमिका छन् । सबैले आफ्नाआफ्ना भूमिका निभाउनुपर्छ । नागरिकले स्वस्थ्य आचरण पालनामा ध्यान दिनुपर्छ ।’ प्रधानमन्त्रीको भनाइ थियो ।
स्वस्थ्य जीवनका लागि शारीरिक र मानसिक दुवै अवस्था सन्तुलित हुन आवश्यक छ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, यसप्रकारका प्रतियोगिताले सहरी जनस्वास्थ्यमा सकारात्मक सन्देश प्रवाह हुनेछ ।
‘रोग लागेपछि उपचार गर्ने अस्पताल बनाउनुभन्दा रोग लाग्न नदिन खेल मैदान र व्यायामशाला बनाउन आवश्यक छ ।’ आयोजक वडाका अध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘यस्ता पूर्वाधार र संरचना बनाउने हो भने स्वास्थ्य क्षेत्रमा सरकारले गरिरहेको खर्च घट्छ ।’
प्रतियोगितामा ६ तौल समूहमा ३८ जना खेलाडी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रतियोगिताको पहिलो दिन असार ६ गते तौल मापन गरिएको थियो ।
७५ के. जी. माथिको तौल समूहमा ६ जना खेलाडी हुनुहुन्थ्यो । यस समूहमा नेपाल व्यायाम मन्दिर, ज्याठाबाट भाग लिनुभएका महर्जन क्याटागोरी विजेताका रुपमा अन्तिम प्रतिस्पर्धामा जानुभएको थियो । ७५ के. जी. सम्म तौल समूहका ५ जना खेलाडीमा नेपाल व्यायाम मन्दिर, ज्याठाका सुरेश मुनिकार, ७० के. जी. सम्म तौल समूहका ६ जना खेलाडीमा पावर फिजिकल फिटनेस, पेप्सीकोलाबाट सुसन श्रेष्ठ, ६५ के. जी. सम्म तौल समूहका ८ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका युवराज बस्नेत, ६० के. जी. सम्मको तौल समूह भएका ७ जना खेलाडीमा फिटनेस ग्यारेज, न्युरोडका सुमित गिरी र ५५ के. जी. सम्मको तौल समूहका ६ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका नेवबहादुर राना क्याटागोरी विजेता बन्नुभएको थियो ।
प्रिजजिङ् चरणपछि भएको प्रतियोगितामा उत्कृष्ठ ५ छनोट हुनुभएको थियो । क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । यस्तै चौथो स्थान हासिल गर्नेलाई १५ हजार नगद र पाँचौ स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ आयोजना गरेको हो । प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग थियो ।
यो प्रतियोगिताले शारीरिक सुगठन खेलका लागि नयाँ आयाम थप गरेको छ । वल्र्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले वडाबाट राष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुनु खेल क्षेत्रका लागि सुखद भएको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा शारीरिक सुगठन क्षेत्रको विकास र विस्तारका लागि योगदान गर्ने खेलाडी तथा पाको उमेरसम्म पनि नियमित शारीरिक व्यायाम गर्ने व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो । यसरी सम्मानित हुनु हुने खेलाडी तथा खेल प्रवर्धकहरुमा सानुकाजी मानन्धर, रमेशनाथ खनाल, शिवलाल श्रेष्ठ, गोविन्द चित्रकार, उदय श्रेष्ठ, तीर्थ महर्जन, रत्नलाल महर्जन विजय कायस्थ, रविन्द्र कपाली, ज्ञानेन्द्र नकर्मी हुनुहुन्छ । त्यस अवसरमा ६८ वर्षको उमेरमा पनि नियमित शारीरिक व्यायाम गर्ने कृष्णसिंह शाहीलाई पनि सम्मानित गरिएको थियो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App