वि.सं.: २०८३, असर ९ मंगलबार
इ.स.: 2026 June 23,TUESDAY
वि.सं.: २०८३, असर ९ मंगलबार
भोलि विहान ९ बजे ललितपुर महानगरपालिकाका विरुद्ध वीरगञ्ज महानगरपालिका र दिउँसो १ बजे भरतपुर महानगरपालिका विरुद्ध काठमाडौँ महानगरपालिका बिच खेल
काठमाडौँ । राजधानीको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरूमा पोखरा महानगरपालिका र वीरगञ्ज महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित दर्ता गरेका छन् ।
प्रतियोगिताको आठौँ खेलमा पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । खेलमा भरतपुर महानगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । पहिले ब्याटिङ गरेको भरतपुरले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।
भरतपुरका लागि ओपनर शुभ कंसाकारले २२ बलमा ३० रनको सर्वाधिक योगदान दिनुभयो । सूर्यन्शु कोइराला, गौतम केसी र योगेश बहादुर भाटले समान १७-१७ रन जोड्नुभयो । पोखराका बलरहरू सुदिप अर्यालले २, अपराजित पौडेलले २, कृष्ण पौडेलले २ र सुवास भण्डारीले २ विकेट लिँदै भरतपुरको ब्याटिङ लाइनअपलाई सस्तैमा समेट्नुभयो । १२४ रनको विजयी लक्ष्य पछ्याएको पोखरा महानगरपालिकाले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएर लक्ष्य सहजै पूरा गर्यो । पोखराको जितमा मुस्कान थापा मगरले उत्कृष्ट इनिङ खेल्दै ४६ बलमा अविजित ५१ रनको अर्धशतकीय योगदान दिनुभयो । उहाँ नै खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो ।
प्रतियोगिताको नवौँ खेलमा वीरगञ्ज महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ ।
खेलमा वीरगञ्ज महानगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो । वीरगन्जका लागि अलराउन्डर पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्नुभयो भने अनिल कुमार साहले १७ रनको योगदान दिनुभयो । विराटनगरका बलर प्रतिक पोखरेल र दिपेश कँडेलले समान २-२ विकेट लिनुभयो । १३६ रनको लक्ष्य पछ्याएको विराटनगर महानगरपालिका वीरगन्जको कडा र कसिलो बलिङ आक्रमण सामु निरीह देखिँदै १८ ओभरमा मात्र ७७ रनमा अलआउट हुन पुग्यो । विराटनगरका लागि प्रेम कामतले अविजित २३ रन र दिपेश कँडेलले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा वीरगञ्जका बलर विशाल पटेलले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ४ महत्वपूर्ण विकेट लिनुभयो । ब्याटिङमा चम्किएका पवन सर्राफले बलिङमा पनि आफ्नो जादु देखाउँदै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट चट्काउनुभयो । ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका पवन सर्राफ खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिनुभयो ।
छैटौँ खेलमा पोखरा महानगरपालिकाले र सातौँ म्याचमा विराटनगर महानगरपालिकाले जित दर्ता गरेका छन् । पोखराले काठमाडौँलाई ६ रनले र विराटनगरले ललितपुर महानगरपालिकालाई ८ विकेटले पराजित गरेका हुन् ।
असार ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा चलिरहेको छ । उद्घाटन खेल काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बिच भएको थियो । यस खेलमा काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो दिनको पहिलो खेलमा भरतपुरद्वारा वीरगञ्ज ७४ रनले र दोस्रो खेलमा पोखराद्वारा विराटनगर ९ विकेटले पराजित भएका थिए । तेस्रो दिनको पहिलो खेलमा काठमाडौँ महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ६ विकेटको सहज जित दर्ता गर्यो । त्यस दिनको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो ।
भोलि विहान ९ बजे ललितपुर महानगरपालिकाका विरुद्ध वीरगञ्ज महानगरपालिका र दिउँसो १ बजे भरतपुर महानगरपालिका विरुद्ध काठमाडौँ महानगरपालिका बिच खेल हुँदैछ ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी-२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै राशीपुरस्कार भएको खेल हो । यसका विजेताले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर, वेष्ट वाट्स म्यान, प्लेयर अफ द टुर्नामेन्टलाई जनही ५ हजार रुपियाँसहित पुरस्कृत गरिनेछ ।
यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App