Logo
  • वि.सं.: २०८३, असर १० बुधबार

  • इ.स.: 2026 June 24,WEDNESDAY

  • वि.सं.: २०८३, असर १० बुधबार

  • अन्तरमहानगर टी ट्वान्टी कपअन्तर्गत आजको खेलमा वीरगञ्ज र काठमाडौँको सानदार जित

    भोलि विहान ९ बजे काठमाडौँ महानगरपालिकाका विरुद्ध विराटनगर महानगरपालिका र दिउँसो १ बजे ललितपुर महानगरपालिका विरुद्ध पोखरा महानगरपालिका बिच खेल

    काठमाडौँ । पीएल सिंह मेमोरियल टी-२० कपको पहिलो संस्करण अन्तर्गत आज सम्पन्न प्रतियोगिताको १०औँ खेलमा वीरगञ्ज महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ७२ रनले र ११ औँ खेलमा काठमाडौँले भरतपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित दर्ता गरेका छन् । राजधानीको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असार ५ गतेदेखि प्रतियोगिता सञ्चालन भइरहेको छ । 

    उद्घाटन खेल काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बिच भएको थियो । यस खेलमा काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गरेको थियो । दोस्रोे खेलमा भरतपुरद्वारा वीरगञ्ज ७४ रनले र तेस्रो खेलमा पोखराद्वारा विराटनगर ९ विकेटले पराजित भएका थिए । 

    चौथो खेलमा काठमाडौँ महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ६ विकेटको सहज जित दर्ता गर्‍यो । पाँचौ खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो । 

    छैटौँ खेलमा पोखरा महानगरपालिकाले र सातौँ म्याचमा विराटनगर महानगरपालिकाले जित दर्ता गरेका छन् । पोखराले काठमाडौँलाई ६ रनले र विराटनगरले ललितपुर महानगरपालिकालाई ८ विकेटले पराजित गरेका हुन् । आठौँ खेलमा पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । प्रतियोगिताको नवौँ खेलमा वीरगन्ज महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ ।  

    आज १० औँ र ११ औँ खेल सम्पन्न भएका हुन् । 

    १० औँ खेलमा ललितपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको वीरगञ्जले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२२ रनको विशाल योगफल खडा ग¥यो । जसमा अनिल कुमार साहले अविजित ७४ रन र पवन सर्राफले ६८ रनको उत्कृष्ट योगदान दिनुभयो । जवाफमा ललितपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो । जहाँ ललितपुरका लागि सक्रिय प्रताप कार्कीले सर्वाधिक २७ रन बनाउनुभयो भने वीरगञ्जका पवन सर्राफले उत्कृष्ट बलिङबाट ४ विकेट लिएर प्लेयर अफ दि म्याच घोषित हुनुभयो । 

    आजै भएको ११औँ खेलमा टस जितेर पहिले बलिङ रोजेको काठमाडौँले भरतपुरलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा रोकेको थियो । जसमा भरतपुरका लागि प्रतीक श्रेष्ठले ५० रन जोड्नुभयो भने काठमाडौँका नितेश कुमारले ३ विकेट लिनुभयो । १५९ रनको लक्ष्य पछ्याएको काठमाडौँले १७.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै १६२ रन बनाएर जित हासिल गर्‍यो । जहाँ काठमाडौँका ओपनर ऋत गौतमले ५३ बलमा ९७ रनको विष्फोटक अविजित इनिङ खेल्दै टोलीलाई जिताएर ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । 

    पहिलो खेलमा काठमाडौँका ऋत गौत्तम, दोस्रो खेलमा भरतपुरका गौत्तम के. सी., तेस्रो खेलमा पोखराका विपिन खत्री, चौथो खेलमा काठमाडौँका सोनु देवकोटा, पाँचौँ खेलमा ललितपुरका विपिन आचार्य, छैटौँ खेलमा पोखराका अर्जुन कुमाल, सातौँ खेलमा विराटनगरका सुजन थपलिया, आठौँ खेलमा पोखराका मुस्कान थापा, नवौँ खेलमा वीरगञ्जका पवन सर्राफ 'म्यान अफ द म्याच' घोषित हुनुभएको छ । 

    भोलि विहान ९ बजे काठमाडौँ महानगरपालिकाका विरुद्ध विराटनगर महानगरपालिका र दिउँसो १ बजे ललितपुर महानगरपालिका विरुद्ध पोखरा महानगरपालिका बिच खेल हुँदैछ । 

    काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी–२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै राशीपुरस्कार भएको खेल हो । यसका विजेताले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर, वेष्ट वाट्स म्यान, प्लेयर अफ द टुर्नामेन्टलाई जनही ५ हजार रुपियाँसहित पुरस्कृत गरिनेछ । 

    यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका छन् । 

    खेलको अन्तिम प्रतिस्पर्धा आउँदो शनिवार बेलुका साढे ६ बजेदेखि फ्लडलाइटमा हुनेछ । 

  • प्रकाशित मिति बुधबार १० असर २०८३ ०७:१० PM