Logo
  • वि.सं.: २०८२, माघ ११ आइतबार​

  • इ.स.: 2026 January 25,SUNDAY

  • वि.सं.: २०८२, माघ ११ आइतबार​

  • काठमाडौँका भौतिक सांस्कृतिक सम्पदाले जोडेको धार्मिक तथा सामाजिक सम्बन्धमाथि चर्चा 

    भाटभटेनी झुण्डिएको देवता वृत्तचित्र सार्वजनिक 

    काठमाडौँ । एउटा ठाउँको सांस्कृतिक सम्पदासँग अर्को ठाउँको धार्मिक सांस्कृतिक सम्बन्ध काठमाडौँको अद्वितीय विशेषता भएको बताउँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, यो विशेषताको संरक्षण गर्ने दायित्वमा प्रतिवद्ध भएर काम गरिरहेको बताउनुभएको छ । आज वडा नं. ५ मा रहेको भाटभटेनीमा रहेको झुण्डिएको देवतामा आधारित परिचयात्मक वृत्तचित्र लोकार्पण गर्दै उहाँले, सामाजिक सद्भाव बढाउने यस्ता क्रियाकलापलाई जीवन्त परम्पराका रुपमा चर्चा गर्नुभयो । 

    पहिचानसँग जोडिएको मौलिकता र विकास भइसकेको आधुनिकताको कुरा गर्दै उहाँले, नरःदे (हाँडीगाउँ) र जयवागेश्वरीका निजी तथा सार्वजनिक भवनहरुको अग्रमोहडा (फसाड) सुधारको काम थालिएको बताउनुभयो । 

    कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतीले, नरःदे (हाँडीगाउँ)को मौलिकता फर्काउन आउँदो २० वर्षभित्र गरिने पुनःस्थापनाका कामलाई गुरुयोजनामार्फत अगाडि बढाउने बताउनुभयो । यसको प्रारम्भमा भवनको अग्रमोहडा परिवर्तन, पोखरी, हितीको पुनस्थापना, खेलमैदानलगायत पूर्वाधार निर्माणको काम गरिरहेको जानकारी दिनुभयो । 

    वृत्तचित्र प्रद्युम्न मिश्रले निर्देशन गर्नुभएको हो । 

    किराँतकालदेखिका सभ्यता पाइने नरःदे (हाँडीगाउँ) मा देवतासँग मानिसको सम्बन्ध देखाउने अनेक कथा, किंवदन्ती तथा धार्मिक र तान्त्रिक विद्यामा आधारित मूर्त र अमूर्त विषय छन् । प्राचीन विशालनगरसँग सम्बन्ध जोडिएको भाटभटेनी झुण्डिएका देवता, यसको उदाहरण हो ।   

    भाटलाई आकाश भैरव र भटेनीलाई आकाश देवी मानिन्छ । यी देवीदेवताका एक सन्तान पनि छन् । उनलाई बालगोपालेश्वर मानिन्छ । यसले गृहस्थ जीवन र बात्सल्य प्रेमलाई झल्काउँछ । मूर्ति झुण्ड्याएको अवस्थामा हुनुलाई आकाशगामी अवस्थामा देवीदेवतालाई झुण्ड््याएर राखिएको मानिन्छ । 

    वृत्तचित्रमा मूर्ति केबाट बनाइएको हो भन्ने कुरा अनभिज्ञ रहेको उल्लेख गरिएको छ । हरेक वर्ष मूर्तिलाई रंगरोगन गर्दै जाँदा मूर्तिको भित्री बस्तु छोपिएका कारण अनभिज्ञता रहेको कार्यक्रममा सहभागीले बताए । 

    महामारीका बेला बालबालिकालाई बचाउन, बच्चा रोइरहने भए वा विरामी भइरहने भए भने त्यसबाट जोगाउन भाटभटेनीको भाकल गर्ने चलन छ । 


     

  • प्रकाशित मिति आइतबार​ ११ माघ २०८२ १०:२८ AM