वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
हामी स्थानीयको अपेक्षाअनुसारका पार्क बनाइदिन्छौँ, सरसफाइ, दिगो सञ्चालन र सुरक्षाको दायित्व स्थानीयले लिनुपर्छ - वडाध्यक्ष संगत
काठमाडौँ । ‘स्थानीयले चाहना गरे अनुसारका वडा कार्यालयले पार्क बनाउने, खुला व्यायामशाला बनाउने दायित्व पूरा गर्छ । यसको संरक्षण, दिगो उपयोग र सरसफाइको दायित्व स्थानीयले पूरा गर्नुपर्छ ।’ काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्नुहुन्छ, ‘पार्कलाई अवाञ्छित क्रियाकलाप स्थल हुनबाट रोक्नुपर्छ । यो स्थानीयबासीको सक्रियताबाट मात्र सम्भव हुन्छ ।’ आज गुह्येश्वरीमा नवनिर्मित सार्वजनिक पार्क र खुला व्यायामशालाको शुभारम्भ गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
‘वडाबासीका अपेक्षा हामीले बुझेका छौँ । पूर्वाधार निर्माणमा सडक, खानेपानीको आपूर्ति, ढल निकास जस्ता पक्षमा धेरै आशा छ ।’ स्थानीयबासीले गरेका अपेक्षामा सांस्कृतिक ऐतिहासिक स्थानको संरक्षण, सम्बर्धन र प्रवर्धन, सामाजिक कार्यक्रम, उद्यमशीलताबाट स्थानीय आय वृद्धि हुने क्रियाकलाप सञ्चालन गरिरहेका छौँ ।’ उहाँले भन्नुभयो, ‘हामीले जसका लागि निर्माणको काम गरेका छौँ । उहाँहरुबाट अपनत्वको अपेक्षा गरेका छौँ ।’
पार्क निर्माण भएपछि स्थानीयबासीलाई विहान वेलुका खुला ठाउँमा आएर थकान मेट्ने ठाउँ उपलब्ध भएको बताउँदै वडा सदस्य सलोनी ओडारीले यस्ता ठाउँले निरोगी र शान्त रहन मद्दत गर्ने बताउनुभयो ।
पार्क ८४४.८५ वर्गमिटर (करिब १ रोपनी १० आना) क्षेत्रफलमा निर्माण भएको हो । पार्कको वरिपरि पर्खाल लगाइएको छ । भित्र हिँड्नका लागि ब्लक ओछ्याइएको छ । खाली ठाउँमा दुवो रोपिएको छ । खुला व्यायामका लागि सिङ्गल रोअर, सेट अप बोर्ड, एड्बोमिनल फिटनेस, एअर वकर, आउटडोर साइकल, डवल क्रस वकर, थाइ ची स्पिनर, हर्स राइडरसहित १२ प्रकारका सामान राखिएका छन् । पार्क निर्माण र खुला व्यायाशालाका सामान जडान गर्दा करिब २९ लाख ४५ हजार रुपैयाँ लागत लागेको छ । २०८१ वैशाख १ गते सम्झौता भएर पार्क निर्माणको काम थालिएको थियो । यसको म्याद त्यसै वर्षको असार १५ गतेसम्म थियो । त्यसपछि खुला व्यायामशालाका सामान जडान गरेर शुभारम्भ गरिएको हो ।
उद्घाटन अवसरमा बोल्दै स्थानीय ध्रुव पौडेलले, पार्कमा शौचालय, पालेघर र एउटा फल्चा थप गर्न सके वहुउपयोगी हुन सक्ने धारणा राख्नुभयो । यसैगरी कुलप्रसाद पुडासैनीले, अहिले जुन र जस्तो अवस्थामा छ । त्यही अवस्था कायम राख्न स्थानीय उपभोक्ताको तर्फबाट दायित्व पूरा हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडाले तिलगंगा, पिङ्गलास्थान, जयबागेश्वरी, गुह्येश्वरी मन्दिर अगाडि र आज शुभारम्भ गरिएको स्थान गरी ५ ठाउँमा पार्क बनाएर खुला व्यायामशाला स्थापना गरेको छ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App