वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
वडाका ७ वटा मतदान केन्द्रलाई आधार बनाएर उपसमिति गठन गर्दैछौँ - वडाध्यक्ष, लामा
काठमाडौँ । आकस्मिक समस्या तथा आपतविपद देख्ने र घटना स्थलमा सबैभन्दा छिटो पुग्ने व्यक्तिहरुका लागि काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ ले ‘विपद व्यवस्थापन स्वयमसेवक’का रुपमा तालिम प्रदान गरेको छ । वडाका सबै क्षेत्र समेटिने गरी १२० जना वडाबासीलाई भेला गराएर स्थानीय सम्भावित विपद, विपदका समयमा बच्ने र बचाउने ज्ञान र सिप बढाउने विषय प्रशिक्षणमा राखिएका थिए । यस क्रममा सैद्धान्तिक कक्षापछि कृतिम घटनाको अभ्यास गराइएको थियो ।
‘वडाको यो प्रयत्न उदाहरणीय छ ।’ कार्यक्रममा प्रदेश सभाका प्रदेश मामिला समितिका सभापति छिरिङ् दोर्जे लामाले भन्नुभयो, ‘माथिल्लो तहमा समन्वय र समुदाय स्तरमा सक्रियता हुने संयन्त्रले सम्भावित विपद व्यवस्थापन गर्न सहज हुनेछ । वडा नम्बर ६ ले थालेको यो अभ्यास यसका लागि अनुकरणीय छ ।’ राम्रो नियतले काम गर्न थाल्दा सिप पुगेन भने नतिजा गलत हुन सक्छ । व्यक्तिको ज्यान बचाउँछु भन्दा ज्यान जाने खतरा हुन सक्छ । यसकारण विपदका फस्ट रेस्पोन्डरलाई क्षमतावान बनाउनु पर्छ । क्षमतालाई अद्यावधिक गराइरहनु पर्छ । उहाँको भनाइ थियो ।
‘वडाले मतदान केन्द्र स्तरमा विपद व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरिसकेको छ । सबैले अपनत्व गर्ने गरी प्रतिनिधित्व गराएर उपसमिति गठन गर्नेछौँ ।’ वडाध्यक्ष भुवन लामाले भन्नुभयो, ‘वडाबासीबाट पूर्वाधार निर्माणका माग धेरै आउने गरेका छन् । हामीले यसै क्षेत्रमा काम पनि गरेका छौँ । अबचाहिँ पूर्वाधारसँगै सामाजिक विकास, स्वास्थ्य सेवा, विपद व्यवस्थापन जस्ता क्षेत्रमा पनि योजना माग गर्नुहोला । अनि मात्र सन्तुलित विकास हुन्छ । पूर्वाधार निर्माण गरेर मात्र विकासलाई सन्तुलित बनाउन सकिँदैन ।’
‘आपत पर्दा नजिकको अस्पताल जानु पर्छ । उपचार त गरियो पैसा तिर्न सकिएन भने के गर्ने?’ सहभागीको प्रश्नमा वडाध्यक्ष लामाले भन्नुभयो, ‘हामीले वडाबासीको उपचारमा सहुलियत प्रदान गर्न स्तुपा सामुदायिक अस्पतालसँग सम्झौता गरेका छौँ । यसका लागि वडाले शिफारिस प्रदान गर्नेछ ।’
वडा सदस्य नरेन्द्रकुमार थापाले वडाका योजना सुनाउँदै भन्नुभयो, ‘ठाउँअनुसार विपतका प्रकृति र जोखिम फरक फरक हुन्छन् । हामी हाम्रो परिवेशको जोखिम नक्साङ्कन गर्दै जानेछौँ । पूर्वतयारी, प्रकोपको समय व्यवस्था, पुनर्लाभ र पुनस्थापनाका योजना बनाउँदै जानेछौँ ।’
तालिममा महानगरपालिकाका वरिष्ठ योजना अधिकृत रमेश घिमिरेले, विपद र योजनाको सम्बन्ध तथा विपद सम्बन्धी कानुनी व्यवस्था, नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले अग्नि नियन्त्रण र घटना स्थलबाट घाइतेलाई उद्धार गर्ने सिप तथा मेडिकल अधिकृत डा. आशिष पाण्डेले अचेत व्यक्तिलाई चेतमा ल्याउने, खाना खाँदा खाँदै अड्कियो भने तत्काल अड्किएको खानेकुरा निकाल्ने विधि र आगोमा जल्दै गरेका वा जलेर घाइते भएका व्यक्तिको उद्धार गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सैद्धान्तिक कक्षा पछाडि नगर प्रहरी निरीक्षक भट्टराईले, कृतिम घटनामा घाइते भएका, सिकिस्त भएका व्यक्तिलाई घटना स्थलबाट उठाएर अस्पताल लैजानका लागि स्थानीय स्तरमा उपलब्ध भएका बस्तु तथा साधनको प्रयोग र विधि, ग्याँसबाट उत्पन्न भएको आगो नियन्त्रण गर्ने विधि र यसका लागि आवश्यक पर्ने आत्मविश्वाश तथा फायर इस्टीङ्ग्वीसरको प्रयोग गर्ने विधि अभ्यास गराउनुभएको थियो ।
यस्तै डा. पाण्डेले, सानातिना सावधानीले जीवन बच्न सक्ने र सानातिना असावधानीले बच्न सक्ने ज्यान पनि जान सक्ने जोखिम रहेकोले यो संवेदनशील काम भएको उल्लेख गर्नुभयो । ‘घटना स्थलमा एक्लै भए आकस्मिक सेवामा खटिने संयन्त्रलाई खवर गर्नु पहिलो काम हो । त्यसपछि मात्र घाइतेलाई बचाउने प्रयासमा लाग्नुपर्छ । जति नै जान्ने भए पनि एक्लै काम गर्दा क्षमता कम भएर बचाउन प्रयास विफल हुन सक्छ ।’ उहाँको भनाइ थियो ।
सम्भावित विपदका जोखिम घटाउन योजना तर्जुमा गर्दा नै ख्याल गर्नु पर्ने धारणा राख्दै वरिष्ठ योजना अधिकृत रमेश घिमिरेले विपत्तिका समयमा पूर्वाधार तथा भौतिक संरचना क्षतिका कारण हुनु नहुने धारणा राख्नुभयो । यो सम्भव छ । यसका लागि संरचना निर्माणका चरणहरुमा ख्याल गर्नुपर्छ । उहाँले, विपद व्यवस्थापनका संस्थागत र तहगत संरचनाका विषयमा प्रस्तुतिकरण गर्दै समुदाय स्तरीय क्षमताले विपदका समयमा जनधनको क्षति घटाउन, खोज तथा उद्धारमा सहयोग पुग्ने बताउनुभयो ।
वडा सचिव कमल गौत्तमका अनुसार विपद व्यवस्थापनका लागि मतदान केन्द्र स्तरमा विपद व्यवस्थापन स्वयमसेवक तयार गरेको यो नै पहिलो हुनुपर्छ । यसका असल र सफल अभ्यास अनुकरणीय हुँदै जाने उहाँले अपेक्षा राख्नुभयो ।
तालिममा खाना पकाउने ग्याँस, ग्याँसको म्याद सकिने अवधि, सिलिण्डरको क्षमता, विजुलीबाट सल्किने आगोको जोखिम घटाउन घरेलु प्रयत्नका बारेमा जिज्ञासाहरु आएका थिए ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App