Logo
  • वि.सं.: २०८३, असर ११ बिहीबार

  • इ.स.: 2026 June 25,THRUSDAY

  • वि.सं.: २०८३, असर ११ बिहीबार

  • काठमाडौँ र पोखरा महानगरपालिका पीएल सिंह मेमोरियल टी२० कपको फाइनलमा

    भोलि विहान ९ बजे भरतपुर महानगरपालिकाका विरुद्ध विराटनगर महानगरपालिका र दिउँसो १ बजे वीरगञ्ज महानगरपालिका विरुद्ध पोखरा महानगरपालिका बिच खेल

    काठमाडौँ । काठमाडौँमा चलिरहेको पीएल सिंह मेमोरियल टी २० कपमा काठमाडौँ र पोखरा महानगरपालिकाले आआफ्ना खेलमा सानदार जित दर्ता गर्दै फाइनलमास्थान सुरक्षित गरेका छन् । असार ५ गतेदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको खेलमा आज १२औँ र १३ औँ म्याच सकिएका छन् । 

    प्रतियोगिताको १२औँ खेलमा काठमाडौँ महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ३ विकेटले पराजित ग¥यो । उक्त खेलमा काठमाडौँले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनायो । जसमा सुजन थपलियाले ३९ र दीपक पासवानले अविजित २९ रन जोड्नुभएको थियो । बलिङतर्फ काठमाडौँका कृष कार्कीले २ विकेट तथा बिशाल फुयाँल र सन्दिप पराजुलीले पनि समान २–२ विकेट लिनुभयो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँले १८ ओभरमा ७ विकेट गुमाउँदै १४३ रनको लक्ष्य पुरा ग¥यो । काठमाडौँको जितमा ३५ बलमा ५५ रनको अर्धशतकीय पारी खेल्नुभएका शिवम् तिवारी खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । खेलमा ऋत गौतमले २५ रनको योगदान दिनुभयो । विराटनगरका कृष शर्मा, प्रतिक पोखरेल र दिपेश कँडेलले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सक्नुभएन । 

    त्यस्तै, प्रतियोगिताको १३औँ खेलमा पोखरा महानगरपालिकाले ललितपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित निकाल्यो । खेलमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा ५ विकेट गुमाएर १६६ रनको बलियो योगफल खडा गरेको थियो । ललितपुरका लागि आदिल खानले ४८ बलमा ८३ रनको विस्फोटक खेल्नुभएको थियो । रोशन विकले अविजित ३२ रन बनाउनुभयो । पोखराका अपराजित पौडेलले २ विकेट लिनुुभयो । १६७ रनको लक्ष्य पछ्याएको पोखराले मात्र १७.२ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गरेको हो । पोखराको जितमा अर्जुन कुमालले ६३ रन र दीपक डुम्रेले ५६ रनको उत्कृष्ट इनिङ्स खेल्नुभयो । ललितपुरका विधान खतिवडा, सूर्य तामाङ र गणेश गौतमले १–१ विकेट लिनुभयो । बलिङमा १ विकेट लिनुका साथै ब्याटिङमा ५६ रन जोडेका पोखराका दीपक डुम्रे खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिनुभयो । 

    उपाधिका लागि काठमाडौँ र पोखरा बीच शनिवार बेलुका फाइनल भिडन्त हुनेछ ।

    भोलि विहान ९ बजे भरतपुर महानगरपालिकाका विरुद्ध विराटनगर महानगरपालिका र दिउँसो १ बजे वीरगञ्ज महानगरपालिका विरुद्ध पोखरा महानगरपालिका बिच खेल हुँदैछ । 

    काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी–२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै राशी पुरस्कार भएको खेल हो । यसका विजेता टीमले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर र वेष्ट वाट्स म्यानलाई जनही २१ हजार रुपियाँ, प्लेयर अफ द टुर्नामेन्टलाई ५१ हजार रुपियाँ नगदसहित पुरस्कृत गरिनेछ । 

    यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका छन् । 

    यस अघिका खेलहरु 
    उद्घाटन खेल काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बिच भएको थियो । यस खेलमा काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गरेको थियो । दोस्रोे खेलमा भरतपुरद्वारा वीरगञ्ज ७४ रनले र तेस्रो खेलमा पोखराद्वारा विराटनगर ९ विकेटले पराजित भएका थिए । चौथो खेलमा काठमाडौँ महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ६ विकेटको सहज जित दर्ता ग¥यो । पाँचौ खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो । 

    छैटौँ खेलमा पोखरा महानगरपालिकाले र सातौँ म्याचमा विराटनगर महानगरपालिकाले जित दर्ता गरेका छन् । पोखराले काठमाडौँलाई ६ रनले र विराटनगरले ललितपुर महानगरपालिकालाई ८ विकेटले पराजित गरेका हुन् । आठौँ खेलमा पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । प्रतियोगिताको नवौँ खेलमा वीरगन्ज महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ ।  

    १०औँ खेलमा वीरगञ्ज महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ७२ रनले र ११ औँ खेलमा काठमाडौँले भरतपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित दर्ता गरेका छन् । 

    आज सम्पन्न १२ औँ खेलमा काठमाडौँ महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ३ विकेटले र १३ औँ खेलमा पोखरा महानगरपालिकाले ललितपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित निकालेर फाइनल खेलका लागि आफूलाई उभ्याएका हुन् । 

    पहिलो खेलमा काठमाडौँका ऋत गौत्तम, दोस्रो खेलमा भरतपुरका गौत्तम के. सी., तेस्रो खेलमा पोखराका विपिन खत्री, चौथो खेलमा काठमाडौँका सोनु देवकोटा, पाँचौँ खेलमा ललितपुरका विपिन आचार्य, छैटौँ खेलमा पोखराका अर्जुन कुमाल, सातौँ खेलमा विराटनगरका सुजन थपलिया, आठौँ खेलमा पोखराका मुस्कान थापा मगर, नवौँ र दशौँ दुवै खेलमा वीरगञ्जका पवन सर्राफ प्लेयर अफ द म्याच घोषित हुनुभएको छ ।११ औँ काठमाडौँका ऋत गौत्तम, १२ औँ खेलमा काठमाडौँकै शिवम तिवारी र तेह्रौँ खेलमा पोखराका दिपक डुम्रे प्लेयर अफ द म्याच घोषित हुनुभयो ।   
     

  • प्रकाशित मिति बिहीबार ११ असर २०८३ ०९:१४ PM