वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
महानगरपालिकाभित्र १ हजार ४९ किलोमिटर सडक सञ्जाल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका १८ वटा वडाभित्र २१६ वटा सडकको नयाँ नाम (पुराना नामलाई संशोधन र नयाँ नामाकरण) वडाबाट अनुमोदन भएको छ । १ हजार ३७ वटा पुराना नामलाई प्रमाणित गर्दै नाम नभएका सडकको नयाँ नाम अनुमोदन भएको हो । यसरी नयाँ नाम राखिएका वडाहरु वडा नम्बर १, २, ८, ९, ११, १२, १४, १६, १८, १९, २०, २१, २४, २५, २७, २८, २९, ३० हुन् । वडा नम्बर ६, २२, २३, २६ र ३२ मा छलफल हुन बाँकी छ । अन्य वडाहरुमा नक्सामाथि छलफल चलिरहेको छ ।
वडाले सडकका नयाँ र संशोधित नाम स्वीकृत गरेपछि यसलाई भवन व्यवस्था समितिको वैठकमा पेश गरिन्छ । समितिबाट पारित भएपछि यसलाई स्वीकृत गराउन कार्यपालिका बैठकमा पेश गरिनेछ ।
काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट नामाकरण भइसकेका सडकहरुलाई एकीकृत गर्ने, सडकहरुको मौलिक र बैज्ञानिक नामाकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन तथा नक्साङ्कन कार्यक्रमको लक्ष्य हो । यसरी पथ, सडक, मार्ग र गल्लीको नक्साङ्कन तथा नामाकरणबाट इन्भेन्ट्री (सूची) तयार गर्ने, सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन द्रुत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क प्राप्त हुनेछ ।
नक्सामा महानगरपालिकाभित्र १ हजार ४९ किलोमिटर सडक देखिएको महानगरपालिकाका सूचना प्रविधि महाशाखा प्रमुख नापी अधिकृत अशोक श्रेष्ठले जानकारी दिनुभयो । यसभित्र पथ, सडक, मार्ग र गल्ली ४ हजार ९७७ वटा छन् । यीमध्ये २ हजार ४१६ वटाको नाम दिइएको छ । २ हजार ५६१ वटाको नाम दिइएको छैन ।
वि. सं. २०५८ सालमा सञ्चालन भएको काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट पथ, सडक, मार्ग र गल्ली गरी २ हजार ५७८ वटा नामाङ्कन र नक्साङ्न गरिएको थियो । ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो ।
सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कनपछि नयाँ नाम राख्ने काम भइरहेको हो । गएको पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो । महाशाखा प्रमुख श्रेष्ठका अनुसार महानगरपालिकाले २०५८ सालमा काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमबाट संकलन गरिएको तथ्याङ्क, अहिले गरिएको ड्रोन म्यापिङ् (अर्थोफोटो) का आधारमा सबै वडाको वडागत नक्सा प्रिन्ट भएको छ । नक्सामा नाम भएका र नाम नभएका सडकलाई संकेत गरिएको छ । यो संकेतका आधारमा वडास्तरीय छलफलबाट पुरानालाई अनुमोदन गर्ने र नयाँ नामलाई वडाबाट अनुमोदन गराउने काम भइरहेको हो ।
वडा नम्बर ७ मा २३९ वटा सडक
१.७४८ वर्ग किलोमिटर क्षेत्रफल भएको महानगरपालिकाकाको वडा नम्बर ७ मा भएका सडकको लम्बाइ ४३.५ किलोमिटर छ । यसमा २३९ वटा सडक छन् । यसमध्ये १३८ वटा सडकको नाम छ । १०१ वटाको नामाकरण भएको छैन । नामाकरण नभएका सडकको लम्बाइ ८.९ किलोमिटर छ । यी सडकको नामाकरणका लागि १५ वटा ग्रीड बनाएर आजदेखि छलफल सुरु गरिएको छ ।
आज गरिएको छलफलमा वडाध्यक्ष विमलकुमार होडाले, प्राचीनता, मौलिकता, सामाजिक तथा सांस्कृतिक क्षेत्रसँग जोडिएका नामलाई रुपान्तरण नगर्न आग्रह गर्नुभयो । नयाँ नामले पनि सांस्कृतिक, सामाजिक, उल्लेखनीय योगदान गरेका व्यक्तित्वको पहिचान जोगाउने तर्फ ध्यान दिनुपर्छ । होडाको भनाइ छ ।
टोल टोलमा, समुदाय समुदायमा छलफल गरेर आफू सम्बन्धित पथ, सडक, मार्ग र गल्लीको नाम शिफारिस गर्न जेठ १७ गतेसम्मको समय दिइएको छ । वडा सदस्य रुपा थापा क्षेत्रीले जानकारी दिनुभयो ।
पूर्वमा वडा नम्बर ६ र ८, पश्चिममा वडा नम्बर ४, उत्तरमा बुढानीलकण्ठ नगरपालिका र दक्षिणमा वडा नम्बर ९ को सिमानाभित्र वडा नम्बर ७ रहेको छ ।
बाटोको वर्गीकरण
काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमले जारी गरेको ठेगाना प्रणाली निर्देशिका २०५७ ले १४ मिटर, ४ लेन वा त्योभन्दा धेरै चौडाइ भएको सडकलाई पथ भनेको छ । १० मिटरदेखि १४ मिटरसम्मको चौडाइ भएकालाई सडक भनेको छ । ३ मिटरदेखि १० मिटर चौडाइ भएकालाई मार्ग र ३ मिटरभन्दा कम चौडाइ भएकालाई गल्ली भनेर वर्गीकरण गरेको छ ।






निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App