Logo
  • वि.सं.: २०८३, वैशाख २४ बिहीबार

  • इ.स.: 2026 May 7,THRUSDAY

  • वि.सं.: २०८३, वैशाख २४ बिहीबार

  • विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाख रुपैयाँ बढीका सामान, साधन तथा उपकरण वितरण 

    एक्लिँदै र टुक्रिँदै गएको मान्छेलाई सामुदायिक क्रियाकलापमा प्रोत्साहित गरेका हौँ - वडाध्यक्ष, के. सी.  

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० ले विपद व्यवस्थापन गर्न नेपाल प्रहरीलाई र सामुदायिक क्रियाकलाप सञ्चालन गर्न वडाभित्रका समुदायहरुलाई सामान, साधन तथा उपकरण वितरण गरेको छ । बुधबार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा छलफल कार्यक्रमका अवसरमा सामान हस्तान्तरण गरिएको हो । 

    यसरी सामान प्राप्त गर्नेहरु गर्ने शैक्षिक क्षेत्रअन्तर्गत रत्नराज्य माध्यमिक विद्यालय, रुद्रमती आधारभूत विद्यालय गरी ३ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयहरुलाई स्मार्ट बोर्ड, प्रोजेक्टर, स्पिकर, प्रिन्टर प्रदान गरिएको छ । यस्तै महानगरीय प्रहरी वृत्त बानेश्वरलाई लाइफ ज्याकेट, स्टेचर, सेफ्टी बुट, सेफ्टी ग्लोब्स, फायर रेसिस्टेन्स ज्याकेट, हेल्मेटलगायत सामान प्रदान गरिएको छ । 

    पूजा प्रतिष्ठान, थापागाउँ विकास समिति र अग्रज समाज नेपाललाई हार्मोनियम, तबला, मादल, बाँसुरी, झ्याली, खैँजडी, मुजुरा प्रदान गरिएको छ । वुद्धनगर विकास समितिलाई प्लाष्टिकका कुर्सीहरु, कार्यालय कुर्सी, टेबुल प्रदान गरिएको छ । यस्तै पञ्चकुमारी श्रद्धा प्रतिष्ठानलाई योगा म्याट, छक्कुबक्कु भगवती मन्दिरलाई स्पिकर र माइक तथा आर्य समाज नेपाल र बानेश्वर महादेव संरक्षण तथा विकास समितिलाई आउटडोर साउण्ड सिस्टम सेट प्रदान गरिएको छ । कार्यक्रममा उपस्थित जनप्रतिनिधि र कर्मचारी अधिकारीहरुले सामान हस्तान्तरण गर्नुभएको थियो । 

    सामान प्रदान गरिसकेपछिको प्रतिक्रियामा वडाध्यक्ष रामकुमार के. सी. ले भन्नुभयो, ‘विपदमा नागरिकको जिउधनको सुरक्षाका लागि नेपाल प्रहरीलाई सहयोग गरेका हौँ । यस्तै सामुहिक कार्यक्रम वृद्धि गरेर एक्लिँदै र टुक्रिँदै गएको मान्छेलाई सामाजिक क्रियाकलापमा व्यस्त बनाउने प्रयास गरेका छौँ । वढ्दो प्रविधिको प्रयोगले मानिस दिनप्रतिदिन एक्लिँदो छ । यसबाट परिवार र समाजप्रतिका दायित्वबाट विमुख बन्दै गएको छ । मानव सभ्यता नै संकटमा पार्ने यी क्रियाकलाप रोक्न हामीले समुदायका लागि सामान, साधन तथा उपकरण प्रदान गरेका हौँ ।’

    के. सी. का अनुसार यसरी प्रदान गरिएका सामानहरु मूल्य करिब २५ लाख रुपैयाँ हो ।  

  • प्रकाशित मिति बिहीबार १२ असर २०८२ ११:५९ AM