वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
छुटेका काम गरेर तपाईँहरुलाई सन्तुष्ट बनाउँछौँ - वडाध्यक्ष, के. सी.
काठमाडौँ । चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० ले ९२ प्रतिशत भौतिक प्रगति र ७४.५२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आज वडामा आयोजना गरिएको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी आर्थिक वर्षका योजना तर्जुमा छलफल कार्यक्रममा प्रगतिका बारेमा धारणा राख्दै वडाध्यक्ष एवं महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले विकास र सुविधा प्राप्त गर्ने वडावासीका स्वभाविक चाहनालाई वफादार भएर पूरा गराउने बताउनुभयो । ‘वडाको सबै ठाउँमा समान दृष्टिले पूर्वाधार निर्माण तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन गरेका छौँ । सबै ठाउँमा एकै पटक काम नभएको हुन सक्छ । यसको अर्थ त्यहाँ दृष्टि
पुगेको छैन भन्ने चाहिँ होइन ।’ उहाँले भन्नुभयो, ‘विकास भनेको त सबै मिलेर गर्ने हो । योजना हामी लिएर आउँछौँ । तपाईँहरु सबै सहभागी हुनुपर्छ ।’ कार्यक्रममा छिमेकी वडाका अध्यक्षका तर्फबाट धारणा राख्दै वडा नम्बर ११ का अध्यक्ष एवं भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले, सडकहरुको वैज्ञानिक नामाकरणका लागि नक्साङ्कनको काम सकिने चरणमा रहेको जानकारी दिनुभयो । अहिले काम गर्न सजिलो छ । के काम गरौँ भनेर जनतालाई सोध्यो भने काम सिर्जना भइ हाल्छ । उहाँहरुको चित्त वुझ्यो भने भयो । तण्डुकारको भनाइ थियो ।
सुनुवाईमा पूर्वाधार विकास तथा सम्पदा संरक्षणतर्फको कामका बारेमा जानकारी दिँदै वडा सदस्य सतिश तण्डुकारले धोवीखोला कोरिडोरमा रहेको सार्वजनिक जग्गालाई अतिक्रमण मुक्त गराएर खुला स्थान र सुन्दर पार्क बनाउने कार्यको प्रारम्भ महत्वपूर्ण रहेको बताउनुभयो । वडाभित्र ४ वटा बस विसौनीलाई परम्परागत फल्चाको स्वरुपमा निर्मा गर्ने योजनाअनुसार २ वटाको निर्माण सम्पन्न भएको छ । २ वटा
निर्माणाधीन छन् । उहाँको भनाइ थियो । सामाजिक र खेलकुद क्षेत्रका विषयमा जानकारी गराउँदै वडा सदस्य निरोज अर्यालले भन्नुभयो, ‘वडाभित्र खेल मैदानको अभावले चाहे जति खेलका कार्यक्रम गर्न सकिएको छैन । तर पनि खेल रोकिएका भने छैनन् । खेलका विभिन्न प्रतियोगिताहरुमा वडावासीले पदकसहितको पुरस्कार प्राप्त गरिरहनुभएको छ ।’ आगामी वर्षमा तालिका बनाएर क्षेत्र छुट्याएर कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो ।
महिला सञ्जालले गरेका कामका बारेमा जानकारी दिँदै सञ्जालका संयोजक रोहिणी श्रेष्ठले, घरभाडा र आपसी असमझदारीका घटना धेरै आउने गरेको अनुभव सुनाउनुभयो । यस्तै मेलमिलाप कक्षका संयोजक सुनिता भित्रकोटीले, विवादका पक्षहरुसँगको छलफलको प्रारम्भमा दुवै पक्ष कडा अडानमा देखिए पनि मेलमिलाप प्रक्रियाप्रति सकारात्मक बन्नुहुन्छ । यो हाम्रा लागि महत्वपूर्ण सिकाइ हो । उहाँको भनाइ थियो ।
वडा सचिव सुवोध खड्काका अनुसार चालु आर्थिक वर्षका लागि स्वीकृत १०२ वटा योजना थिए । जसमध्ये २ वटा योजना कार्यान्वयनमा आएनन् । ठेक्कामार्फत काम भइरहेका ५ वटा योजना निर्माण सम्पन्न हुन बाँकी छन् । अन्य योजनाहरु सम्पन्न भइसकेका छन् । सामाजिक क्षेत्रतर्फका २० वटा योजनाको ६६ प्रतिशत योजना सम्पन्न भएका छन् ।
वडाले जेठ मसान्तसम्ममा २० करोड २७ लाख ५३ हजार ५३५ रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, भूमि कर, मनोरञ्जन कर, अन्य शिफारिस र धरौटीलगायत शीर्षकबाट प्राप्त भएको हो ।
सामाजिक सुरक्षातर्फ पहिलो चौमासिकमा १ हजार ३५१ जनालाई, दोस्रो चौमासिकमा १ हजार ४३८ जनालाई र तेस्रो चौमासिकमा १ हजार ४७४ जनालाई भत्ता वितरण गरिएको छ । यसरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेमा ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, अपाङ्गता भएका क र ख वर्गको परिचय पत्र प्राप्त व्यक्ति र दलित बालबालिका हुनुहुन्छ । वडामा पोषण भत्ता लिने (७५ वर्ष माथिका) ३८३ जना ज्येष्ठ नागरिक हुनुहुन्छ ।
शव्दचित्रमा वडा नम्बर १०
२.३ वर्गकिलोमिटर क्षेत्रफल भएको वडामा ४ वटा मतदान केन्द्र छन् । ३९ हजार ८२० जना जनसंख्या रहेको वडामा ११ हजार ८७३ मतदाता छन् । २०८० सालमा वडा प्रोफाइल तयार पार्दा ६ हजार ३६१ घरधुरीको विवरण संकलन भएको छ । वडाको पूर्वमा वडा नम्बर ३१, पश्चिममा वडा नम्बर ११ र २९, उत्तरमा वडा नम्बर ९ र दक्षिणमा बागमती नदी सिमाना रहेको छ ।
वडावासीले अपेक्षा गरेको विकास
सार्वजनिक सुनुवाईमा २८ जनाले गुनासा, सुझाव, जिज्ञासा तथा माग राख्नुभएको थियो । उहाँहरुमध्ये सबैभन्दा धेरै ९ जनाले तार व्यवस्थापनको माग राख्नुभयो । कोठामा भाडामा बस्ने उठेर जाँदा प्रयोग गरेको तार हुँदाहुँदै नयाँ आउनेले अर्को तार टाँग्ने भएपछि चाहिनेभन्दा नचाहिने तारको गुजुल्टो धेरै भएकोमा उहाँहरुको चिन्ता थियो । ‘मेरो घरमा पानी आउने धाराको टुटी चोर्ने चोर पत्ता लागेन, यहाँ चोरी भयो भन्दा पनि काल पल्क्योमा चिन्ता छ ।’ सेवाग्राहीको सुरक्षासँग सम्बन्धित यो गुनासोसँगै अन्य सेवाग्राहीले सीसीटिभी क्यामरा जडान गरिदिनुपर्ने, रातमा सडक उज्यालो बनाउनु पर्ने माग राख्नुभयो ।
सामुदायिक कुकुरले झम्टिने, टोक्ने, खेदाउने गरेकै थिए । घरपालुवा कुकुर अर्कोको ढोका नजिक ल्याएर दिशापिसाब गराउनेमाथि निगरानी बढाउनु पर्ने भयो । ज्येष्ठ नागरिकले लठ्ठी टेक्ने होइन, खेल खेलेर बलियो हुने बनाउनु प¥योे । विपद जोखिम कम गराउन प्रतिकार्य बलियो बनाउनु पर्ने, वडाको मध्यमकालीन र दीर्घकालीन विकास योजना बनाउनु पर्ने, वडाभित्रकै रोजगारदाता र सिपयुक्त जनशक्तिका विचमा सम्पर्क गराइदिनु प¥योे । बर्खाको बाढीको त्रास छ । जोखिम घटाउने योजना ल्याउनु प¥यो । उहाँहरुको माग थियो ।
सेवाग्राहीका सवालहरुमा महानगरपालिकाको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, राजस्व विभागका प्रमुख दिपक अधिकारी र महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले आफू सम्बन्धित विषयमा जवाफ दिनुभएको थियो ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App