Logo

विद्युतीय सेवा विस्तार र व्यवस्थापनमा वडालाई जिम्मेवार बनाउनुपर्छ — प्रवक्ता मानन्धर

विद्युतीय सेवा विस्तार र व्यवस्थापनमा वडालाई जिम्मेवार बनाउनुपर्छ — प्रवक्ता मानन्धर

काठमाडौँ । विद्युतीय सेवा विस्तार र प्रवर्धन गर्न वडालाई जिम्मेवार र क्षमतावान बनाउँदै लैजानु पर्ने काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धरले बताउनुभएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको सूचना प्रविधि समितिको बैठकमा उहाँले यस्तो धारणा राख्नुभएको हो । 

‘नागरिकले लिनु पर्ने सेवाहरु वडामा छन् । सेवाग्राहीले हातैमा भएको मोबाइलबाट सेवा लिन सकुन् । प्राविधिक अवस्था र क्षमता कारणले यो सम्भव भएन भने पनि वडामा पुग्नासाथ काम गर्न सकियोस् ।’ प्रवक्ता मानन्धरले भन्नुभयो, ‘महानगरले क्षमता वडाको बढाउन सेवाको एकरुपतामा काम गर्नुपर्छ । बाँकी काम वडाबाटै हुनुपर्छ ।’

बैठकमा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले बैकल्पिक व्यवस्था सहितको प्रणाली जडान गरेर कुनै पनि कारणले सेवा अवरुद्ध हुन नदिनतर्फ कार्यक्रम अगाडि बढाउनु पर्ने बताउनुभयो । 

बैठकमा समितिका सदस्य सचिव एवं सूचना प्रविधि विभागका निर्देशक नमराज ढकालले, विभागको कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । ‘विद्युतीय एकीकृत सेवा प्रणालीको शुभारम्भ भएको छ । विद्युतीय हस्ताक्षरसहितको विल्डिङ् परमिट सिस्टम कार्यान्वयनमा ल्याइएको छ । वडाको क्षमता बढाउन प्राविधिक जनशक्तिको व्यवस्थापनका लागि काम थालिएको छ ।’ ढकालले प्रगतिसँगै पुस २९ गते हुने अधिवेशनमा प्रस्तुत गर्नुपर्ने संशोधन बजेट र वडा कार्यालयहरुलाई सीसीटिभी क्यामरा जडान गर्नका लागि तयार पारिएको प्राविधिक मापदण्डका विषयमा जानकारी गराउनुभएको थियो । 

समितिका सदस्यहरुबाट वडाले सार्वजनिक स्थान व्यवस्थापनको निगरानी गर्न र सुरक्षा प्रत्याभूति गराउन सडक तथा चोकहरुमा पनि सीसीटिभी जडान गर्नुपर्ने धारणा राखेपछि उहाँले वाह्य स्थानमा राखिने सीसीटिभीको मापदण्ड विभागले निर्धारण गरेर वडामा पठाउने बताउनुभयो । 

 

 

 

 

 

 

 

 

  • प्रकाशित मिति: बुधबार २० पुस २०७९ २०:४२