वि.सं.: २०८३, असर १४ आइतबार
इ.स.: 2026 June 28,SUNDAY
वि.सं.: २०८३, असर १४ आइतबार
'खेलले सामाजिक र राष्ट्रिय एकताको सुत्र हो, खेलले सामाजिक र राष्ट्रिय एकताको सुत्र हो, अब खेल सँगै हेर्नुपर्छ, एकजुट भएर विकास गर्नुपर्छ' - कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पीएल सिंह मेमोरियल टी-२० कप २०८३ को उपाधि जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा महानगरपालिकालाई ८ विकेटले पराजित गर्दै काठमाडौँ च्याम्पियन बनेको हो ।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौँले पोखरा महानगरपालिकालाई १२२ रनमै अलआउट गर्यो । त्यसपछि १२३ रनको लक्ष्य पछ्याएको काठमाडौँका ओपनर रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ७१ रन बनाउनुभयो । उहाँलाई रिङ्जिन लामाले अविजित ५० रन बनाएर साथ दिएपछि काठमाडौँले लक्ष्य केवल १२.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै उपाधि आफ्नो नाम गर्यो ।
खेलको समापन समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विजेता टोलीलाई नगद ११ लाख रुपियाँसहित ट्रफी र उपविजेता टोलीलाई नगद ५ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो । प्लेयर अफ द फाइनल काठमाडौँका रित गौतमलाई सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले पुरस्कृत गर्नुभयो ।
प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ पवन सर्राफ उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर रित गौत्तमलाई जनही नगद २१ हजार रुपियाँसहित पुरस्कृत गरियो । यस्तै अर्जुन कुमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रुपमा नगद ५१ हजार रुपियाँसहित पुरस्कृत गरियो । यी पुुरस्कारहरु चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं. २९ का अध्यक्ष कुश ढकालले प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा क्रिकेट खेलको विकास, प्रवर्धन र सुदृढीकरणमा योगदान दिए वापत उपेन्द्र भट्टराई र विजयकुमार शर्मालाई जनही ५१ हजार रुपियाँसहित सम्मानित गरियो ।
समापन अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खुला र उदार सोचका पूर्व प्रमुख स्वर्गीय सिंहको व्यक्तित्व स्मृति हुने टुर्नामेन्टले, खेलको विकास र स्थानीय स्तरबाट खेलाडीको उत्पादनमा योगदान हुने अपेक्षा राखेको बताउनुभयो । ‘वागमती प्रदेश क्रिकेट संघको व्यवस्थापनमा यस वर्षको टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ । आगामी वर्ष हामी दायरा र क्षेत्र बढाएर राष्ट्रिय टुर्नामेन्टका रुपमा सञ्चालन गर्नेछौँ ।’
‘यो खेलले महानगरपालिकाहरुका बिचको सम्बन्धलाई नजिक ल्याएको महसुस गरेको छु ।’ कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले भन्नुभयो, ‘प्राविधिक रुपमा पोखरा उपविजेता भएको छ । तर, हामीले जितेको महसुस गरेका छौँ ।’
सिंहलाई स्थानीय तहको अनुकरणीय नेताका रुपमा सम्झना गर्दै सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘सिंहको स्मृतिमा थालिएको यो टुर्नामेन्ट नियमित चल्नेछ । यसबाट खेलको विकासमा योगदान हुनेछ ।’
‘फ्लडलाइटमा खेल्ने क्रिकेट खेलाडीको सपना हो । हामीले त यो सपना देखेका मात्र थियौँ । आन्तरिक खेलमा काठमाडौँ महानगरपालिकाले यसलाई सम्भव बनाइदियो ।’ बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले भन्नुभयो, ‘यो टुर्नामेन्टले क्रिकेटको पहिचानलाई छुट्टै विशिष्ट स्थान प्रदान गरेको छ ।’
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी-२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै राशी पुरस्कार भएको खेल हो । यसका विजेता टीमले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर र वेष्ट वाट्स म्यानलाई जनही २१ हजार रुपियाँ, प्लेयर अफ द टुर्नामेन्टलाई ५१ हजार रुपियाँ नगदसहित पुरस्कृत गरिनेछ ।
यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए ।







निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App