Logo
  • वि.सं.: २०८२, जेठ १७ शनिबार

  • इ.स.: 2025 May 31,SATURDAY

  • वि.सं.: २०८२, जेठ १७ शनिबार

  • ‘ढल प्रणाली विकास’ र ‘पानीको निकास’का योजना वडाबासीको पहिलो माग

    वडा नं. ११ को सार्वजनिक सुनुवाइ तथा योजना तर्जुमा सम्पन्न  

    काठमाडौँ । त्रिपुरेश्वर, भोटेवहाल, थापाथली, सुन्धारा, बबरमहललगायत काठमाडौँ महानगरपालिका वडा नम्बर ११ का सबैजसो ठाउँमा ढल निकास प्रणाली निर्माण गरेर पानीको निकास दिने कामलाई प्राथमिकतामा राख्नु पर्ने वडाबासीले माग गर्नुभएको छ । ढलको आकार बढाउनु पर्ने, सफा गरेर पानीको निकास निर्वाध बनाउनु पर्ने माग राख्दै उहाँहरुले बाढीजन्य विपदबाट आफूहरुलाई डर लागि रहेको बताउनुभएको छ । वडाले आज आयोजना गरेको आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजनाको सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुका कार्यक्रममा बोल्ने स्थानीयबासीले गएको वर्षको बाढीले पुर्‍याएको क्षति, मेलम्ची खानेपानीको पाइप लाइन फुट्दा उत्पन्न त्रास र यस वर्ष औसतभन्दा माथि बर्षा हुने पूर्वानुमानका विषयमा कुरा गर्दै उहाँहरुले पानीको सहज निकास आवश्यक रहेको बताउनुभएको हो ।

    कार्यक्रममा २२ जनाले वडाका कामको समीक्षा गर्दै आफ्ना अपेक्षा राख्नुभएको थियो । सहभागीहरु स्थानीय टोल सुधार समिति, उपभोक्ता समिति, क्लव, व्यवसायी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा वडाबासी हुनुहुन्थ्यो ।

    सहभागीको प्रश्नको जवाफमा वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले, स्थानीय र समगको मागलाई विश्लेषण गरेपछि देखिने चित्रलाई कार्यान्वयन गरिरहेको बताउनुभयो । ‘धेरै जनाको मत जे मा छ, हामी त्यही गरिरहेका छौँ । हाम्रो क्षेत्राधिकारभित्र नपर्ने गुनासा आउँछन् । ती गुनासा लिएर जसको क्षेत्रमा पर्छ । उसलाई भनेर समाधान गरिरहेका छौँ ।’ कार्यान्वयन योग्य योजनामा ढल निकासलाई उदाहरण बनाएर तण्डुकारले भन्नुभयो, ‘ढल निकासको समस्या छ भने त्यो समस्या लिएर एक्लै वडामा नआउनु । छिमेकीसँग सल्लाह गरेर सबैको एउटै मत बनाएर आउनु । अनि मात्र कार्यान्वयन गर्न सकिन्छ । नत्र एउटाले माग्ने अर्कोले रोक्ने हुन थाल्छ । यसरी नतिजा निकाल्न सकिँदैन ।’

    महानगरपालिका स्थापनाको सिद्धान्तबमोजिम अधिकार प्रक्षेपण नगरिएका कारण महानगरपालिकाले आफ्नो क्षमताअनुसारको नतिजाका लागि काम गर्न पाएको छैन । प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भन्नुभयो, ‘क्षेत्राधिकार भित्र वा बाहिर सबैतिरको कुरा सुनेर आफैँले सक्ने तत्काल समाधान गरिदिने, क्षेत्राधिकारमा नपर्नेलाई समन्वय गरिदिने भएकोले नागरिकका अपेक्षा र गुनासाहरु आइरहन्छन् । यसरी आउने स्वभाविक अपेक्षालाई पूरा गराउन पनि अरुको मुख हेर्नु पर्ने अवस्था महानगरपालिकाका लागि चुनौती हो ।’

    चालु आर्थिक वर्षमा वडाले सम्पन्न गरेका ९ वटा योजना, कार्यान्वयनमा रहेका ४ वटा र सार्वजनिक खरिद प्रक्रियामा रहेको १९ वटा योजनासहित सामाजिक क्षेत्रका कार्यक्रमका बारेमा जानकारी दिँदै वडा सचिव धर्मराज भट्टराईले गएको वर्ष जेठ १० गते सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले राखेका अपेक्षा सम्बोधनका लागि वडाको प्रयत्नका विषयमा जानकारी गराउनुभएको थियो । योजनाको विवरणलाई प्रगति पाटी बनाएर कार्यक्रम स्थलमा राखिएको थियो । यसरी सार्वजनिक गरिएको विवरणमाथि आफूलाई लागेको कुरा र आगामी आर्थिक वर्षमा कस्ता योजनाको अपेक्षा छ? सहभागीहरुबाट लिखित रुपमा लिइएको थियो । 

    भट्टराईका अनुसार विकास तथा सेवा प्रवाहमा गरिएको अनुगमनको समीक्षा गर्नुपर्ने, वर्षौँदेखि प्रचलनमा आएका तर नक्सामा नभएका सडकहरुलाई नक्सामा उतार्नु पर्ने, खुला तथा सार्वजनिक ठाउँहरुको सुरक्षा गर्नु पर्ने, नदी किनाराका पार्कहरुमा व्यायामका लागि साधन तथा उपकरण जडान गरिदिनुपर्ने, मन्दिरहरुको नियमित सफाइ गर्नुपर्ने, छात्रवृत्ति दिन नसकिएका विद्यार्थीहरुलाई सहुलियत शिक्षा ऋण उपलब्ध गराउनु पर्ने, टुकुचा खोलालाई सुधार गरेर हिँड्न मिल्ने बनाउनु पर्ने, त्रिपुरेश्वर चोकलाई सुधार गरेर आकर्षक पानीको फोहोरासहितको स्थान बनाउनु पर्ने सुझाव प्राप्त भएका थिए । यसरी प्राप्त सुझावलाई योजना तथा कार्यक्रम बनाएर कार्यान्वयनमा लगिएको उहाँको भनाइ छ ।

    सामुदायिक स्वास्थ्य प्रवर्धन केन्द्र, आयुर्वेदिक औषधालयसहित वडाले प्रदान गर्ने सेवा प्रवाहका विषयमा जानकारी गराउँदै उहाँले, ज्येष्ठ नागरिकलाई गराइएको तीर्थाटन, लक्षित वर्गका कार्यक्रम, सिपमूलक कार्यक्रमबाट वडाबासीको ढोकामा पुग्ने प्रयास गरिएको बताउनुभयो ।  

    प्रश्नकर्ताका मुख्य जिज्ञासाहरु

    केन्द्रीय सरकार र महानगरपालिकाको केन्द्रले कार्यान्वयन गर्ने योजनासँग कसरी समन्वय गर्नुहुन्छ? गएको वर्ष धोवी खोलामा बाढी आउँदा बगाएको पुल पुनःनिर्माण हुन सकेन, कारण के हो? जोखिमपूर्ण पुल छेक्न राखिएको जाली काटेर मानिस आवतजावत गर्न थाले, यसबाट हुने जोखिम घटाउन के सोच्नुभएको छ? काठका विजुलीका पोल मक्किएका छन् । तिनै मक्किएका पोलले तारको गुजुल्टोको भार थाम्छन् त? यसको जोखिम घटाउन साझेदारसँग कसरी समन्वय गर्दै हुनुहुन्छ? यस वर्ष धेरै पानी पर्ने अनुमान गरिएको छ । वडाभरिका धेरैजसो ढल साँघुरा भएका छन् । त्यसमा पनि माटो पसेर झन् साँघुरो भएको छ । यसपालीको बर्खाको पानीको निकास कसरी नियमित गर्नुहुन्छ? रुद्रेश्वर मन्दिरसहित वडाभित्रका पुराना मठमन्दिरमा रङ्गरोगन गर्ने बेला भएको छ । मर्मत गर्ने बेला भएको छ, कहिले गर्नुहुन्छ? जीतजंग मार्गमा जीर्ण भएको रुखले जोखिम बढाएको छ? कसरी जोखिममुक्त बनाउनुहुन्छ? कालमोचन टुकुचा पुल मर्मत गरौँ । सुन्धारा क्षेत्रमा चलेका दोहोरी र डान्स सञ्चालन गर्ने व्यवसायीलाई साउण्ड प्रुफ ठाउँ बनाउन लगाउन परो, स्थानीयलाई रातमा सुत्न कठिन भो ।

    सुन्धारा क्षेत्रमा चालिसौँ ट्याक्सी एकै पटक पार्किङ् हुन्छन् । पानीका ट्याङ्कर पनि ल्याउनु पर्दा त झन अस्तव्यस्त हुन्छ । यसलाई व्यवस्थापन गरिदिनुपरो । ज्ये्ष्ठ नागरिकलाई निमोनियाँको भ्याक्सिन दिनु परो । घर घरमा युवा छैनन् । पाका मानिसलाई समस्या परे कसलाई कसरी सम्पर्क गर्ने प्रबन्ध मिलाइदिनु परो, नत्र घरभित्रबाट बाहिर आउन नपाएर ज्यान जाने जोखिम छ ।

    व्यवसाय कर तिर्न आउँदा व्यवसायीसँग किन वहाल कर मागेको? बहाल कर नभइ व्यवसाय दर्ता वा नवीकरण नहुने किन बनाइदिएको? वहाल कर त घरधनीले तिर्ने होइन र? सडकमा भएका कुकुरले दुःख दिए, यिनको दुःखबाट बच्ने केही उपाय गर्न मिल्दैन?

    यसरी उहाँहरुले वडासँग आफू र आफ्नो परिवेशसँग सम्बन्धित जिज्ञासा राख्नुभएको थियो ।

    सहरी विकास निर्माण र व्यवस्थापनमा एकीकृत प्रणाली नहुञ्जेलसम्म नागरिकका यी गुनासा यथावत रहन्छन् । प्रश्नहरुको नीतिगत जवाफमा वडाध्यक्ष तण्डुकारले  सोच परिवर्तनको खाँचो देखाउनुभयो । प्रशासनिक क्षेत्रका सवालमा जवाफ दिँदै वडा सचिव भट्टराईले, सेवाग्राही सचेत हुनुभयो भने धेरै प्रकारका सेवाको प्रक्रिया आफैँले अगाडि बढाउन मिल्ने बताउनुभयो ।

    १ दशमलव ७४ वर्ग किलोमिटर क्षेत्रफल भएको वडाका सबै ढोकामा जनप्रतिनिधिको पहुँच पुगोस् भनेर वडालाई ४ भागमा बाँडेर हरेक क्षेत्र एक जना वडा सदस्यहरुलाई हेर्ने गरी जिम्मेवारी दिइएको छ । उहाँहरुलाई जनताका समस्या सुन्ने र समाधान गरिदिने जिम्मेवारी दिइएको छ ।

     

  • प्रकाशित मिति बिहीबार १५ जेठ २०८२ ०९:२७ PM