Logo
  • वि.सं.: २०८३, असर ३० मंगलबार

  • इ.स.: 2026 July 14,TUESDAY

  • वि.सं.: २०८३, असर ३० मंगलबार

  • काठमाडौँ महानगरपालिका वडा २४ को आयोजनामा सुरु भएको वुद्धिचाल प्रतियोगितामा ५ देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा 

    प्रतियोगिताको ५ चरणमा शर्मा, लामा, महर्जन र राई अग्र स्थानमा : भोलि ४ चरण खेल हुने 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २४ ले आज सुरु गरेको नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्‍यापिड (१९०० मुनि) चेस टुर्नामेन्ट सुरु गरेको छ । आजदेखि धर्मपथमा रहेको सांस्कृतिक द्यः छेँमा खेल सुरु भएको हो । खेलको शुभारम्भ गर्दै वडा नं. २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले, महानगरपालिका घोषणा हुँदाका उपप्रमुख स्वर्गीय नविन्द्रराज जोशीको व्यक्तित्वमाथि चर्चा गर्दै उहाँको योगदानलाई चीरस्मरणीय बनाइ राख्न जोशीका नामबाट प्रतियोगिता थालिएको बताउनुभयो । 

    वडाले विश्व वुद्धिचाल महासंघ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।

    खेल, स्वीस सिस्टममा आधारित अर्थात एक जना खेलाडीले ९ जना खेलाडीसँग प्रतिस्पर्धा गरेर उच्च अङ्क प्राप्त गर्ने खेलाडी विजेता हुने प्रणालीमा खेलाइँदै छ । यसमध्ये आज ५ चरणमा खेल सम्पन्न भएको छ । यी चरणमा काठमाडौँका सीएम भगवती प्रसाद शर्मा र दिपक महर्जन, मोराङ्का उमेश राई र मकवानपुरका फुर्वा लामाले ५ वटै खेल जितेर शीर्ष स्थानमा रहनुभएको प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर) ज्ञानेन्द्र खाइजुले जानकारी दिनुभयो । 

    खाइजुका अनुसार स्वीस लिग प्रणालीमा हरेक जितका लागि खेलाडीले १ नम्बर प्राप्त गर्नेछन् । बराबर भयो ०.५ अंक प्राप्त हुनेछ । 

    यस प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्स गरी ५ वटा देशका ११ जना गरी २२६ जना खेलाडी सहभागी हुनुहुन्छ । नेपालका ४८ जिल्लाबाट खेलाडीहरु सहभागी हुनुभएको छ । उमेरका हिसाबले ९ वर्षका सुवाङ्ग प्रधानदेखि ८० वर्षका भेट्रान खेलाडी सीताराम अग्रवाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिस्पर्धामा १५ जना महिला हुनुहुन्छ । 

    काठमाडौँ बाहिरबाट प्रतिस्पर्धाका लागि आउनु भएका खेलाडीहरुलाई वडा कार्यालयले २ रातको आवासीय सुविधा उपलब्ध गराएको छ । 


     

  • प्रकाशित मिति शुक्रबार​ १५ जेठ २०८३ ०८:३५ PM