महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिन्छ - प्रमुख प्रशासकीय अधिकृत, परियार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीय स्तरीय निर्णयबाट नगर प्रहरी नायव निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायव निरीक्षकमा तह वृद्धि गरिएको हो ।
तह वृद्धि गरिएका प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै वुधबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिवद्ध रहन निर्देशन दिनुभयो ।
त्यस अवसरमा प्रशासन विभागका प्रमुख नमराज ढकाल, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेसहित अधिकारीहरुले महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम र सहरी सुशासनमा नागरिकले नगर प्रहरीमाथि विश्वास गरेको बताउँदै यो विश्वाशमा आँच आउन दिन नहुने बताउनुभयो ।