Logo

राजस्व र बैङ्कको सफ्टवेयर परीक्षणका लागि एकीकृत

राजस्व र बैङ्कको सफ्टवेयर परीक्षणका लागि एकीकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व सफ्टवेयरसँग एनआईसी एशिया बैङ्कको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरिएको छ । वडा नं. ५ मा माघ ९ गते सफ्टवेयर एकीकृत गरेर १० गतेबाट एकीकृत प्रणालीबाट रकम संकलन गर्ने कार्य सञ्चालन गरियो । प्रणाली सञ्चालनको पहिलो दिन राजस्व, शुल्क तथा दस्तुर शीर्षकमा ८४ हजार ९५५ रुपैयाँ संकलन भएको छ । 

वडाध्यक्ष वीरेन्द्र प्रजापतीकाअनुसार ८ वटा शीर्षकमा यो रकम संकलन भएको हो । जसमध्ये सबैभन्दा धेरै सम्पत्ति करतर्फ ३१ हजार २५८ रुपैयाँ संकलन भयो । त्यस्तै सबैभन्दा कम व्यक्तिगत घटना दर्ता दस्तुर १ सय रुपैयाँ जम्मा भएको छ । अन्य शीर्षकहरुमा भूमिकर÷मालपोत, घर बहाल कर, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, शिफारिस दस्तुर, अन्य सेवा शुल्क लगायत छन् । 

वडाले चालु आर्थिक बर्षको साउन १ गतेदेखि माघ १० गतेसम्ममा ४ करोड ३६ लाख ६९ हजार ४६४ रुपैयाँ राजस्व संकलन गरेको छ । 


सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले राजस्व, शुल्क तथा दस्तुर तिर्दा बैङ्क भौचर भर्नु पर्दैन । प्रणालीका बारेमा जानकारी दिँदै राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘वडाको लेखा शाखामा गएर विवरण भरेपछि त्यो विवरणबाट बैङ्क भौचर सिर्जना हुन्छ । त्यसका आधारमा वैङ्कमा अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिन्छ । बैङ्कमै गएर नगद बुझाउन हो भने पनि त्यहाँ गएर भौचर भर्नुपर्दैन । फोन नम्बर दिए मात्र पुग्छ । यसबाट सेवाग्राहीले फारम भर्ने, कुरा नबुझेर अन्यौलमा पर्ने समस्या हुँदैन । समय वचत हुन्छ । झन्झट हुँदैन । वित्तिय काम पारदर्शी र उही समयमा हुन्छ ।’ ’ 

अहिले वडा ५ बाट सुरु गरिएको यो प्रणाली त्यहाँबाट प्राप्त भएको नतिजाका आधारमा अन्य वडाहरुमा समेत विस्तार गर्ने योजना छ । 

  

 

  • प्रकाशित मिति: मंगलबार १० माघ २०७९ २०:१८