वि.सं.: २०८२, माघ १६ शुक्रबार
इ.स.: 2026 January 30, FRIDAY
वि.सं.: २०८२, माघ १६ शुक्रबार
माघ १० गतेदेखि मूल समारोह समितिले आयोजना गरेका कार्यक्रम समापन
काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न सभामा नेपाली सेनाको टुकडीले सहिद सलामी अर्पण गरेको थियो । त्यस क्रममा प्रधानमन्त्री शुशिला कार्कीले सहिद स्तम्भमा पुष्पाहार अर्पण गर्नुभएको थियो । यस्तै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, कर्मचारीसहित सर्वसाधारणले स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो ।
सभामा स्मृति मन्तव्य राख्दै मूल समारोह समितिका संयोजक एवं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, सप्ताहव्यापी कार्यक्रममा सम्पन्न कार्यक्रमका बारेमा जानकारी दिँदै सहिदहरुको समर्पण र सपनालाई साकार बनाउन एकीकृत योजना आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘उहाँहरुको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन सबैको सहभागिता र साझा मत आवश्यक परेको छ । राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक भएको वास्तविकता पुस्तान्तरण गर्नुपर्ने बेला आएको छ ।’ उहाँको भनाइ थियो ।
‘सहिदहरुको योगदान स्मरण गर्दै महानगरपालिकाले संरचना निर्माण गर्ने तथा सहिदकै नाममा सेवा सञ्चालन गर्ने काम गरिरहेको छ । धर्मभक्त पार्क, सहिद गंगालाल हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना र सञ्चालन सहिदका नाममा महानगरपालिकाले गरेका काम हुन् ।’ उहाँको भनाइ थियो ।
हुुकुमी शासनको अन्त्य, जनताको स्वतन्त्रता र स्वाधीनताका लागि सहिदहरुले व्यक्तिगत सुख, सुविधा त्यागेर प्राण आहुती गरेपछि प्राप्त भएको अवस्था अहिले हामीले भोग गरिरहेका छौँ । त्यसका लागि संघर्षरत योद्धाहरुले माफी मागेर शाशक सामु झुक्नुभन्दा प्रजातन्त्र, सुशासन र लोकतन्त्रका लागि विभिन्न काल खण्डमा प्राणाहुति गर्नुभएको छ । सन्ततिको स्वतन्त्रता र शासनमा नागरिक सर्वोच्चताको आकांक्षा राखेर प्राण दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।
यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थान रहेका सहिदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । ४ सहिदका सालिकमध्ये महानगरपालिकाले २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरेको छ ।
प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ । राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेविच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो ।
त्यो बर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । जेल सजाय भोगिरहेकै बेला उहाँहरुलाई प्राणदण्ड दिइएको थियो ।
नागरिकका मौलिक र मानव अधिकार प्राप्तिका लागि त्यसपछि समय समयमा आन्दोलन भएका छन् । ती आन्दोलनमा धेरै व्यक्तिहरु सहिद भएका छन् । २०८२ भदौ २३ गते भएको आन्दोलन सबैभन्दा पछिल्लो आन्दोलन हो । यस्ता आन्दोलनमा राष्ट्रको स्वाधीनताका लागि ज्यान अर्पण गरेका सहिदहरुको सम्मान १ दिनको कार्यक्रमले पूरा हुँदैन । नागरिक अधिकार सम्पन्न व्यवस्थाका लागि दैनिक आचरण परिवर्तनको खाँचो छ । सहिद दिवसका दिनमा यही संकल्प गर्ने गरिएको छ ।
माथेमाको जन्म स्थलमा श्रद्धाञ्जली
आज नै काठमाडौँ महानगरपालिकाका वडा नं. २३ ओमवहाल (यंगाल) मा रहेको धर्मभक्त पार्कमा पनि स्मृति सभा सम्पन्न भएको छ । धर्मभक्त माथेमा स्मृति गुथिले आयोजना गरेको कार्यक्रममा माथेमाको प्रतिमामा माल्यार्पण गरिएको थियो ,
कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल, विधायन समितिका संयोजक मचाराजा महर्जन, जनप्रतिनिधिहरु, गुथिका अधिकारीहरु र स्थानीयहरुको सहभागिता थियो ।





तस्विर : न्युज एजेन्सी नेपाल
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App