वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
ज्ञात अज्ञात सहिदहरुको स्मृतिमा सभा सम्पन्न
काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।
स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट प्रभातफेरी निकालिएको थियो । उच्च पदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारण प्रभातफेरीमा सहभागी हुनुभएको थियो ।
सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको प्रेरणाबाट जीवित मानिसहरुलाई समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त भइरहेको बताउनुभयो । ‘सहिदहरुको बलिदानीबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सम्भव भएको हो । यसलाई संस्थागत विकसित र उत्तरदायी बनाउन तथा राष्ट्रको प्रतिष्ठा र नागरिकको प्रगतिका लागि सबै एक हुनुपर्छ ।’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
शान्त र समृद्ध मुलुक निर्माणको दायित्व सबैले लिएर सहिदको सपना पूरा गर्न लाग्नुपर्ने सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभयो । ‘स्वतन्त्र, स्वाधीन र सार्वभौम मुलुकमा सन्ततिले नागरिक अधिकार उपभोग, सहिदहरुको सपना थियो । त्यो सपना पूरा गर्न हामी सबैले आफ्ना आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ । यसका लागि साझा संकल्पको खाँचो छ ।’ प्रमुख शाहको भनाइ थियो ।
स्मृति सभामा सरकारका उच्च पदस्थ अधिकारीसहित महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यसहित सर्वसाधारण सहभागी हुनुहुन्थ्यो ।
माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफल र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा सहिदहरुको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । ४ सहिदका सालिकमध्ये २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक निर्माण गरिएको हो । यी सालिक महेश तुलाधरले निर्माण तयार पार्नुभएको हो ।
प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ । राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेविच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो । त्यो बर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो ।
माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
त्यसपछि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्तिहरु सहिद भएका छन् । ती सहिदको सम्मान १ दिनको कार्यक्रमले सम्भव छैन । नागरिक अधिकार सम्पन्न व्यवस्थाका लागि दैनिक आचरण परिवर्तनको खाँचो छ । सहिद दिवसका दिनमा यही संकल्प गर्ने गरिएको छ ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App