वडा वडामा निःशुल्क कानुनी सहायता र परामर्श सेवा उपलब्ध हुने
काठमाडौँ । वडा तथा मातहतका कार्यालयमा कानुनी परामर्श तथा प्राज्ञिक सहायताका लागि काठमाडौँ महानगरपालिका र त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस बिच सम्झौता भएको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र क्याम्पस प्रमुख डि. एन. पराजुली बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सार्वजनिक प्राज्ञिक अवधारणा बमोजिम सम्पन्न सम्झौता चालु आर्थिक बर्षको असार मसान्त सम्मका लागि हो । सम्झौताको समयावधि सकिए पछि आपसी सहमति र निर्णयका आधारमा म्याद थप गर्न सकिनेछ ।
वडा तथा महानगर मातहतका अन्य कार्यालयमा निःशुल्क कानुनी सहायता उपलब्ध गराउनु सम्झौताको मुख्य उद्देश्य हो । कानुन नजानेका कारण, लेख्न नजानेका कारण, प्रक्रिया नबुझेका कारण वा एक्लो भएर सहयोग गर्ने मान्छे नभएका कारण कोही पनि सेवाग्राही सेवा लिनबाट वञ्चित हुन नपरोस् भनेर सहकार्य थालिएको हो ।
सेवाका लागि क्याम्पसको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु इन्टर्नका रुपमा खटिनेछन् । सेवाग्राहीको आवश्यकता अनुसार सामान्य निवेदन, उजुरी निवेदन, फिराद पत्र, प्रतिउत्तर पत्र, लिखित जवाफको मस्यौदा गरिदिने, मौखिक उजुरी परामर्श दिने इन्टर्नमा आउने विद्यार्थीको मुख्य जिम्मेवारी हुनेछ । महानगरबाट प्रवाह हुने सेवा, त्यसको प्रक्रिया र कार्यविधिका विषयमा जानकारी दिने र आवश्यक सहजीकरणको काम हुनेछ । महानगरले इन्टर्न विद्यार्थीलाई दिने काम सम्बन्धी कार्य क्षेत्रगत सर्त तथा कार्य विवरण अनुसार कार्य सम्पादन हुनेछ ।
सेवाग्राहीलाई सहजीकरण गर्दा उहाँहरुसँग भएको प्रमाण कागज र व्यक्त भएका तथ्यलाई आधार मानेर लिखत तयार पार्नु पर्नेछ । यसरी तयार पारिने लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शव्द, वाक्य गठन कानुन बमोजिम हुनेछ ।
यसरी खटिने इन्टर्न प्रति विद्यार्थी र एक जना सम्पर्क अधिकारीका लागि महानगरपालिकाले मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ ।
सहकार्यबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालक, अन्यायमा परेका व्यक्ति, वर्ग र समुदायलाई प्रशासनिक र न्यायिक पहुँचमा सहज हुने अपेक्षा गरिएको छ ।
सम्झौता बमोजिम महानगरका जनप्रतिनिधि तथा कर्मचारीका लागि कानुन विषयमा उच्च शिक्षाका कार्यक्रम अध्ययन गर्ने अवसर तथा विशेष सुविधा क्याम्पसले उपलब्ध गराउनेछ ।
तस्विर : विनय शाक्य