वि.सं.: २०८३, जेठ १७ आइतबार
इ.स.: 2026 May 31,SUNDAY
वि.सं.: २०८३, जेठ १७ आइतबार
काठमाडौँ महानगरपालिका वडा २४ ले आयोजना गरेको प्रतियोगितामा ५ देशका २२६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए
काठमाडौँ । काठमाडौँका राजेन्द्र बज्राचार्यले ८ अङ्क बटुल्दै, नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्यापिड (१९०० मुनि) चेस टुर्नामेन्टको विजेता हुनुभएको छ । जेठ १५ र १६ गते ९ चरणमा सम्पन्न प्रतियोगितामा समान अङ्क प्राप्त गर्नुभएका रुकुमका मिलन रोका टाइब्रेक अङ्कले दोस्रो र मोराङ्का उमेश राईले तेस्रो स्थान हासिल गर्नुभयो । यसै गरी चितवनका सन्तोष गौत्तम, पाँचथरका महेन्द्रकुमार साम्बाहाम्फे, काठमाडौँका जनार्दन श्रेष्ठ, काभ्रेका योगेश श्रेष्ठ, काठमाडौँका रमेश वीर माली, झापाका डा. सुशन गौत्तम र दोलखाका कविन्द्र शिवाकोटीले क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थान प्राप्त गर्नुभयो ।
महिला तर्फ चितवनकी पूर्णिमा गुरुङ् ५.५ अङ्कसहित उत्कृष्ट खेलाडी बन्नुभयो । यस्तै खोटाङ्की कुसुम घिसिङ दोस्रो उत्कृष्ट र काठमाडौँकी पञ्च्या बोलल्चा तेस्रो उत्कृष्ट महिला खेलाडी बन्नुभयो ।
समापन कार्यक्रममा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने खेलाडीहरुलाई नगद क्रमशः ३० हजार रुपियाँ, २० हजार रुपियाँ, १५ हजार रुपियाँ, १० हजार रुपियाँ र ८ हजार रुपियाँ सहित ट्रफी, पदक र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । यसपछि दशौँ स्थानसम्म हासिल गर्ने खेलाडीहरुलाई जनही ६ हजार रुपियाँ प्रदान गरिएको थियो ।
हरेक प्रदेशबाट एक–एक जना उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । यसरी उत्कृष्टता प्राप्त गर्ने खेलाडीलाई ५-५ हजार रुपियाँ प्रदान गरिएको थियो ।
प्रतियोगितामा वडा नं. २४ बाट २ जनालाई स्थानीय खेलाडी, महानगरपालिकाभित्रबाट २ जना खेलाडीलाई स्थानीय उत्कृष्ट खेलाडीका रुपमा सम्मानित गरिएको थियो ।
धर्मपथमा रहेको सांस्कृतिक द्यः छेँमा खेलाइएको खेलमा ५ वटा देशका २२६ जना खेलाडीका बिच प्रतिस्पर्धा भएको थियो । विश्व वुद्धिचाल महासंघ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाको वडा नं. २४ ले आयोजना गरेको प्रतियोगितामा भारत, अमेरिका, बेलायत र फ्रान्सका ११ जना नेपालका ४८ जिल्लाबाट २१५ जना खेलाडीहरु सहभागी हुनुभएको थियो । उमेरका हिसाबले ९ वर्षका सुवाङ्ग प्रधानदेखि ८० वर्षका भेट्रान खेलाडी सीताराम अग्रवाल प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रतिस्पर्धामा १५ जना महिला हुनुहुन्थ्यो ।
सहभागीमध्ये ६४ जना अनरेटेड अर्थात पहिलो पटक प्रतिस्पर्धामा आउनु भएका खेलाडी हुनुहुन्थ्यो ।
‘विश्व वुद्धिचाल महासंघले विश्वाश गर्ने स्तरको खेल आयोजना गरेका कारण हामीले लगातार तेस्रो वर्षसम्म नियमित कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यसलाई आगामी वर्षहरुमा पनि नियमितता दिनेछौँ ।’ समापन अवसरमा बोल्दै वडाध्यक्ष राजभण्डारीले भन्नुभयो, ‘स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी हुन पाउने अवसर सिर्जना गर्दै जानेछौँ । यस क्रममा हाम्रा अग्रज, सामाजिक तथा सांस्कृतिक पक्षलाई प्रवर्धन गर्दै लैजानेछौँ ।’
प्रतिस्पर्धाको अनुभूति साट्दै भारतीय खेलाडी पंकज श्रीवास्तवले, सौहाद्र खेल आयोजनाले आफूू आगामी प्रतिस्पर्धाका लागि उत्साहित रहेको धारणा राख्नुभयो ।
खेल, स्वीस सिस्टममा आधारित अर्थात एक जना खेलाडीले ९ जना खेलाडीसँग प्रतिस्पर्धा गरेर उच्च अङ्क प्राप्त गर्ने खेलाडी विजेता हुने प्रणालीमा खेलाइएको थियो । खेलका प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर) ज्ञानेन्द्र खाइजुले खेलका बारेमा जानकारी दिँदै भन्नुभयो, ‘स्वीस लिग प्रणालीमा हरेक जितका लागि १ नम्बर प्रदान गरिन्छ । बराबर भयो ०.५ अंक प्राप्त हुनेछ । यही प्रणालीबाट खेल खेलाइएको हो ।’




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App