Logo

सहरी व्यवस्थापन रुपान्तरणको कठिन घडीमा महानगर प्रहरीले अग्रपङ्तिमा भूमिका निर्वाह गरेको छ - प्रमुख शाह 

विविध कार्यक्रमसहित ३२ औँ महानगर प्रहरी दिवस २०८१ सम्पन्न 

काठमाडौँ । सहरी व्यवस्थापन रुपान्तरणको कठिन घडीमा महानगर प्रहरी वलको भूमिका अग्रपङ्तिमा रहेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, विकासोन्मुख मुलुकका सहरहरुलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राख्नुभएको छ । ३२ औँ महानगर प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उहाँले विकासले विनाश गरेको प्रकृतिलाई पुनःस्थापनामा प्रहरीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । 

‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एशियाली मुलुकहरुकै लागि सिकाइ बनेको छ ।’ प्रमुख शाहले धारणा राख्नुभयो । सुशासनका लागि बोलीमा मिठास र व्यवहारमा सरलता चाहिन्छ । उहाँले प्रहरी सेवाबाट अपेक्षा गर्नुभयो । 

प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा पनि प्रहरी बलले अग्रणी भूमिका खेलेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, प्रहरीले गर्ने कामका विषयमा नागरिकलाई जानकारी दिन सकियो भने आपसी सम्बन्धमा काम गर्न सकिन्छ । त्यस्तै प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, नगर प्रहरीसँग स्रोत सीमित भए पनि आत्मविश्वाश मजवुत भएको धारणा राख्नुभयो । सवै विभाग, वडा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सबैसँगको सहकार्यमा काम गर्नु पर्ने प्रहरी समन्वय र सहजीकरणको भूमिकामा पनि छ । मानन्धरको भनाइ थियो । 

सुशासन समितिका संयोजक ख्यामराज तिवारीले कार्यक्रममा नगर प्रहरीको दिगो संगठन संरचनाका लागि काम थाल्ने बेला भएको बताउनुभयो । नगर प्रहरीले काठमाडौँ जागा छ । जागा भइरहन्छ भन्ने सन्देश दिएको, गएको २ वर्षमा आफ्नो पहिचानलाई जनजनमा पु¥याएको तिवारीको भनाइ थियो । 

कार्यक्रममा महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, भएको ज्ञान, सिप र विवेकलाई कानुन नीति र आदेशको पालनामा पूर्ण प्रयोग गरिएको धारणा राख्नुभयो ।   

कार्यक्रममा नगर प्रहरी हवल्दार उषा अधिकारीलाई नगद ३० हजार रुपैयाँसहित महानगर प्रहरी गौरव पुरस्कार प्रदान गरियो । यस्तै नगर प्रहरी निरीक्षक श्यामप्रसाद तिमिल्सिनालाई २० हजार रुपैयाँसहित उत्कृष्ट महानगर प्रहरी पुरस्कार प्रदान गरियो । 

नगर प्रहरी नायव निरीक्षक ईश्वरीप्रसाद दाहाल, नगर प्रहरी हवल्दार विक्रम श्रेष्ठ र नगर प्रहरी हवल्दार पूर्णबहादुर श्रेष्ठलाई नगद १० हजार रुपैयाँसहित महानगर प्रहरी पुरस्कार प्रदान गरियो । यस्तै नगर प्रहरी निरीक्षक रवि गुरुङ् र इश्वरप्रसाद वाग्लेलाई एक ग्रेड वृद्धि गरियो । 
  
नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ । महानगरपालिकाले वि. सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सेवा थालेको हो । त्यस बेला नगर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा विभिन्न तहमा २१९ प्रहरीको दरबन्दी थियो । 

नगर प्रहरीको विकास र विस्तारका क्रममा २०७७ साल चैत २९ गते महानगर प्रहरी बलका रुपमा विकास गरियो । २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी ग¥यो । यसबाट महानगर प्रहरी बल थप सशक्त र संगठित बनेको छ । 

महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा नगर प्रहरीले गर्ने कामको जिम्मेवारी ऐनले व्यवस्था गरेको छ । 

नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा अहिले ४०८ जना जनशक्तिको संगठनले काम गरिरहेको छ । संगठनमा ३ जना नगर प्रहरी उपरीक्षक, ४ जना नगर प्रहरी नायव उपरीक्षक, ३१ जना नगर प्रहरी निरीक्षक कार्यरत हुनुहुन्छ । यस्तै ३१ जना नगर प्रहरी नायव निरीक्षक, २२ जना नगर प्रहरी सहायक निरीक्षक, ५६ जना नगर प्रहरी हवल्दार,  र २६० जना नगर प्रहरी जवान हुनुहुन्छ । 

गएको आर्थिक बर्ष २०८०/०८१ मा सहरी सुव्यवस्थाका लागि गरेका काममध्ये अनधिकृत रुपमा कब्जा गरेको  जग्गा फिर्ता गराउने, हरियाली प्रवर्धन गर्ने, अनधिकृत फोहर फाल्नेलाई कारवाही गर्ने, सरसफाइ र सुन्दरता वृद्धि गर्ने, विपद व्यवस्थापनमा महसुस हुने काम गरेको छ । अनधिकृत विज्ञापन सामग्री र सार्वजनिक आवागमनमा असर पार्ने र सम्पदा क्षेत्रका सूचना पाटी, विज्ञापन वोर्ड तथा महानगरपालिकामा दर्ता नभएका २० हजार ४०४ वटा बोर्डहरु हटाएको छ । कालोपत्रे सडकमा भएको सवारी पार्किङ्लाई निषेध गरिएको छ । पार्किङ्को अनुमति लिइ अन्य प्रयोजनमा ल्याइएको १ लाख ८० हजार ७५६ वर्ग फिट स्थानलाई पार्किङ् प्रयोजनमा ल्याइएको छ ।

विपद व्यवस्थापनअन्तर्गत ४२१ वटा आगलागी नियन्त्रण गरिएको छ । जोखिममा रहेका रुख र संरचना गरी ६५ ठाउँलाई जोखिममुक्त बनाइएको छ । चकुन्चालगायत नदीमा आएको बाढीबाट भएको कटान नियन्त्रण गरेर बस्ती बचाउने काम गरेको छ । 

नगर प्रहरीको सेवालाई नागरिकका नजिक पु¥याउने उद्देश्यले महानगरको भूगोललाई ४ क्षेत्रमा विभाजन गरेर क्षेत्रगत कमाण्डर र विभिन्न दर्जाका प्रहरी खटाएको छ । यसअन्तर्गत पूर्व क्षेत्र, पश्चिम क्षेत्र, उत्तर क्षेत्र र मध्य क्षेत्र पर्छन् । 

सेवालाई थप सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न टेकुको करिब ७ रोपनी जग्गामा केन्द्रीय कार्यालय निर्माण गर्ने प्रहरी बलको योजना छ । 


 

तस्विर : अमृत पाण्डे 

 

  • प्रकाशित मिति: शनिबार १५ भदौ २०८१ ०९:३८