Logo

खेल सकिँदासकिँदै उपविजेता टिमलाई काठमाडौँ महानगरपालिकाबाट सम्मान र प्रोत्साहन 

२-१ गोल अन्तरले वंगालादेश विजेता, नेपाल उपविजेता

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ का उपविजेता नेपाली टिमलाई काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान र प्रोत्साहन गरेको छ । कार्तिक १४ गते साँझ साढे ६ बजेदेखि नेपालले वंगालादेशको टिमसँग फाइनल खेल खेलेको थियो । खेलमा नेपाल १-२ गोल अन्तरले उपविजेता बनेको हो । खेल सकिएपछि एक औपचारिक कार्यक्रम आयोजना गरेर महानगरपालिकाले २३ जना खेलाडीहरुलाई जनही १ लाख रुपैयाँ नगद र प्रशिक्षक, स्वास्थ्यकर्मी, टिम व्यवस्थापक, प्राविधिकसहित ९ जनालाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरेको हो । 

खेलाडीलाई सम्मान गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले, सबै नेपालीलाई एकैपटक, एकै ठाउँमा बसेर खुशी हुने मौका प्रदान गरेकोमा खेलाडीप्रति आभार प्रकट गर्नुभयो । ‘खेलाडी कमजोर भएर उपविजेता बनेको होइन । खेलाडी आफैँमा सशक्त हुनुहुन्थ्यो । खेल उत्कृष्ट थियो । यसकारण आफ्ना विषयमा थप सोचिरहनु पर्दैन । राम्रो थियो । अर्कोपटक अझै राम्रो बनाउने प्रत्यत्न गर्दा पुग्छ ।’ प्रमुख शाहको धारणा थियो । 

उपप्रमुख सुनिता डंगोलले खेलाडीहरुलाई विजेता भएको अनुभूति गर्न अनुरोध गर्नुभयो । ‘विजेता हुनु, उपविजेता हुनु, अगाडि हुनु, पछाडि हुनु प्राविधिक कुरा हो । तपाईँहरुले जित्नु भएको हो । यही अनुभूति गर्नुहोला ।’ उहाँको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सामाजिक समितिका संयोजक रामकुमार के. सी. सहित जनप्रतिनिधि र विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।  

घरेलु मैदान काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भएको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा वंगालादेशकी मोनिका चक्माले डिबक्सबाट गोल गरेर ५२ औँ मिनेटमा अग्रता दिलाइन् । त्यसको लगत्तै खेलको ५५ औँ मिनेटमा नेपालकी अमिषा कार्कीले बराबरी गोल फर्काइन् । खेल सकिन ९ मिनेट बाँकी हुँदा वंगालादेशकी ऋतु पोर्ना चक्माले डिबक्स बाहिरबाट गरेको प्रहार उत्कृष्ट गोलमा परिणत भयो । यसरी थपिएको १ गोल खेलका लागि निर्णायक बन्यो । वंगालादेशको टिम विजेता र नेपाली टिम उपविजेता बने । 

सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यसतै वंगालादेशले भुटानलाई ७–१ अन्तरले पराजित गर्दै फाइनलमा गएको थियो ।   

यो सातौँ संस्करण हो । छैटौँ संस्करण सन् २०२२ मा नेपाल बंगालादेशसँगै ३-१ गोल अन्तरले उपविजेता बनेको थियो । नेपाल यससँगै ६ पटक (बंगालादेशसँग २ पटक र भारतसँग ४ पटक) उपविजेता बनेको छ । 

प्रत्यक्ष प्रसारण 
रंगशालामा गएर खेल हेर्ने अवसर नपाएका सर्वसाधारणलाई खेल देखाउन महानगरपालिकाले टुँडिखेल, सानो गौचरन (हाँडीगाउँ) र चावहिलको फुटवल ग्राउण्डमा एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारणको व्यवस्था गरेको थियो । यी स्थानमध्ये टुँडिखेलमा २० हजारभन्दा धेरै दर्शकले खेल हेर्नुभएको थियो । यस्तै चावहिलमा ५ हजारभन्दा धेरै र सानो गौचरनमा पनि ५ हजारभन्दा धेरै दर्शकले खेल हेर्नुभएको थियो । 
 

  • प्रकाशित मिति: बिहीबार १५ कात्तिक २०८१ १२:५०