Logo

काठमाडौँ प्लाजा भाडामा लिन महानगरपालिकाको ट्रष्टसँग सम्झौता 

काठमाडौँ प्लाजा भाडामा लिन महानगरपालिकाको ट्रष्टसँग सम्झौता 

काठमाडौँ । काठमाडौँ प्लाजा बहाल लिन काठमाडौँ महानगरपालिकाले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ । बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । 

हस्ताक्षरपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल स्थानान्तरण गर्न निर्देशन दिनुभयो । सेवा अवरोध नगरी आफ्नो जिम्मेवारीमा रहेका विभागहरुलाई सार्दै जाने योजना रहेको उहाँको भनाइ छ । 

सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित विग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ । झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले वहाल रकमबाट कटाउनेछ । यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ । बाहिरी संरचनामा कुनै हेरफेर गरिने छैन ।  

भवन महानगरले कार्यालय प्रयोजनमा ल्याउनेछ । भवन छोड्नु वा छोड्न लगाउनु परेमा १८० दिन अगावै जानकारी गराउनु पर्नेछ । विजुली पानीलगायत सुविधाको बिल महानगरपालिकाले भुक्तानी गर्नेछ । काबुवाहिरको परिस्थितिबाहेक अन्य टुटफुट महानगरले व्यहोर्नेछ । 

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवनभित्र यस अघि सञ्चालनमा रहेका निरमाया दोहारी र राज घराना भने शिलबन्दी गरिएको छ । ट्रष्टसँगको वहाल लेनदेन नमिलेपछि शिलबन्दी गरिएका यी ठाउँ प्रयोगमा नआएसम्म महानगरले भाडा कटाउनेछ । 

यो सम्झौता १० बर्षका लागि हो । ५ बर्षपछि १० प्रतिशतले वहाल वृद्धि हुनेछ ।  

कि. नं. २२३५ को करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको भवन ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ । 

१ लाख १६ हजार वर्गफिट पक्की भवन र ३ हजार ६ वर्गफिटको अस्थायी संरचनासहित प्लाजामा जम्मा १ लाख १९ हजार वर्गफिट कार्यालय प्रयोगमा ल्याउन सकिन्छ । 

२०७२ को भूकम्प अघि महानगर बागदरबारमा थियो । भूकम्पको कम्पनले भवन जीर्ण भएर कार्यालय सञ्चालनका लागि कमजोर भएपछि केही समय राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरियो । त्यसपछि सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । यस स्थानमा सबै विभाग नअट्टाएपछि विभागहरुलाई फरक फरक ठाउँमा राखिएका छन् । 
अहिले प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय जेडिए कम्प्लेक्समा छन् । यस कम्प्लेक्समा वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई रहेका छन् । 
साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुन सम्बन्धी सेवाहरु, ट्राफिक व्यवस्थापन बिज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन एकाई छन् । 

टेकुमा उद्यान तथा हरियाली प्रबर्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपंक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ । राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । 

सहकारी विभाग विजुली बजारमा छ । सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । 

जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाई लगायत कार्यालय छन् ।  

हनुमान ढोका दरबार संरक्षण कार्यालय बसन्तपुरमा छ । राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखा लगायत संरचना छन् । 

यसरी छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो । 

  • प्रकाशित मिति: बिहीबार ९ चैत २०७९ ०८:५२