न्यायिक समिति राष्ट्रिय मञ्च तदर्थ समिति गठन : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख संयोजक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा न्यायिक समितिको राष्ट्रिय मञ्च तदर्थ समिति गठन भएको छ । चैत १५ र १६ गते काठमाडौँको प्रज्ञा भवनमा सञ्चालन भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनको समापन अवसरमा न्यायिक समिति काठमाडौँ घोषणा, २०७९ जारी गर्दै मञ्च गठन गरिएको हो । समितिले १ महिना भित्र विभिन्न पदाधिकारी सहितको २१ सदस्यीय न्यायिक समिति राष्ट्रिय मञ्चलाई पूर्णता दिनेछ ।
मञ्च जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गर्ने सम्मेलनबाट निर्णय भएको छ ।
न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित, प्रभावकारी र गुणात्मक बनाउन न्यायिक समितिका पदाधिकारी बिच निरन्तर सम्पर्क, समन्वय र सञ्चार गर्न राष्ट्रिय मञ्च, प्रदेश मञ्च र जिल्ला मञ्च गठन गरिएको हो ।
सम्मेलनको समापनमा सम्मेलन मूल समितिकी संयोजक एवं काठमाडौँ महानगरकी उपप्रमुख डंगोलले, मञ्च गठन सम्बन्धी प्रस्ताव गर्नुभएको थियो ।
न्यायिक समितिको प्रदेश मञ्चमा १ जना अध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष र ८जना सदस्यको चयन हुनेछ । प्रत्येक जिल्लामा हुने न्यायिक समितिको भेलाबाट चुनिएको न्यायिक समिति जिल्ला मञ्चको अध्यक्ष यस मञ्चको पदेन उपाध्यक्ष हुनेछ ।
यसै गरी न्यायिक समिति जिल्ला समितिको भेलाबाट १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष चयन हुनेछ । पदाधिकारीमा प्रतिनिधित्व नभएका जिल्लाभित्रका अन्य सबै स्थानीय तहका न्यायिक समितिको संयोजक वा सदस्य १÷१ जना मञ्चको सदस्य रहनु हुनेछ ।