वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
पूर्वाधार निर्माणमा सार्वजनिक आव्हानको प्रभाव
काठमाडौँ । साविक पुरानो बसपार्क आसपास क्षेत्रमा थुपारिएका निर्माण सामग्री हटाइएको छ । सर्वसाधारणको आवतजावतमा बाधा हुने गरी सामग्री राखेर हिलो बनाएपछि निर्माण पक्षलाई १० हजार रुपैयाँ जरिवाना तिराएर सामग्री हटाउन लगाइएको हो ।
यता वडा नं. १२ टेकुबाट लगनतर्फ प्रबेश गर्ने भित्री सडकमा निर्माण सामग्री थुपारे राख्ने प्रवृत्तिमा कमी आएको छ । स्थानीय लक्ष्मण चित्रकार भन्नुहुन्छ, ‘महानगरले यस पटक निकालेको सूचनाबाट मानिसहरु सचेत भएको पाएको छु ।’
वडा ३ महाराजगञ्ज क्षेत्रमा निर्माण भइरहेको निजी घरलाई १० हजार रुपैयाँ जरिवाना तिराइयो । भवन बनाउने सामग्री सडकमै राखेर सार्वजनिक सम्पत्तिको सार्वजनिक उपयोगमा बाधा गरेकोले जरिवाना तिराइएको हो ।
सहरी सुन्दरता, विकास व्यवस्थापनको काम गर्दाका त्रुटी सच्याउन महानगरले नियमनलाई कडा बनाएपछिका यी प्रतिनिधि घटना हुन् ।
सहरी व्यवस्थापनको नियमन गरिरहेको नगर प्रहरी बलको आन्तरिक प्रशासन शाखाले अनधिकृत काम गर्नेहरुलाई कारवाही गरेर गएको साउनदेखि अहिलेसम्म ३ लाख ३७ हजार ५ सय रुपैयाँ जरिवाना तिराएको छ । सडक अवरोध हुने गरी मोटरसाइकल वर्क सप सञ्चालन गर्ने, अनधिकृत रुपमा फोहोर फाल्ने, निर्माण सामग्री तथा उपकरण राख्ने, पोष्टर, पम्प्लेट र व्यानर टाँस्ने, मनोहरा खोलाबाट बालुवा निकालेर बेच्नेहरुलाई जरिवाना तिराएर राजस्व खातामा रकम जम्मा गर्ने गरिएको छ । शाखाले अहिलेसम्म तिराएको जरिवाना कम्तीमा ५ सय रुपैयाँ छ भने बढीमा २० हजार रुपैयाँ छ । यसबाहेक अनधिकृत फोहोर गर्नेहरुलाई वातावरण व्यवस्थापन विभागले पनि जरिवाना गराउने गरेको छ ।
सार्वजनिक सम्पत्तिका रुपमा रहेका सडकलाई व्यक्तिले व्यक्तिगत प्रयोगमा ल्याउन थालेपछि महानगरपालिकाले यस्ता क्रियाकलाप नियन्त्रण नियमनमा सक्रियता बढाएको छ । महानगरका प्रवक्ता नविन मानन्धर भन्नुहुन्छ, ‘हामीले सडकमा कुनै पनि प्रकारको वाधा नगराउन विकास साझेदार कार्यालयलाई पत्र पठाएका छौँ । साझेदार र सर्वसाधारणलाई सार्वजनिक सूचना प्रकाशन गरेर सूचित गराएका छौँ । सूचनामार्फत गरिएको अनुरोध पालना भए नभएको हेर्न महानगर प्रहरी बलले अनुगमन निरीक्षण गरिरहेको छ ।’
आँखा छल्न पाइयो भने सडकमै मोटरसाइकल बनाउने, धुने, घर बनाउने डण्डी, सिमेन्ट, बालुवा, रोडा, औजार तथा उपकरण थुपार्नेलगायत काम हुने गरेका छन् । यो काम सर्वसाधारणले मात्र होइन, पूर्वाधार निर्माण, सेवा सुविधा वितरणका लागि काम गर्ने विकास साझेदारले पनि गर्ने गरेका छन् । काम सकिएपछि पनि निर्माण सामग्री नउठाउने, सडक वा सडक पेटी पुनस्र्थापना नगर्ने परिपाटी पनि उत्तिकै छ ।
सहरमा यस प्रकारका गल्ती नगर्न महानगरले समन्वय बैठकमार्फत निकायगत अधिकारीहरुलाई अनुरोध गर्ने गरेको छ ।
महानगर प्रहरी बलले भौगोलिक क्षेत्रलाई ४ भागमा बाँडेर क्षेत्रगत कमाण्डरको अभ्यास यस अघिदेखि नै गरिरहेको छ । यसअन्तर्गत अहिले पूर्व क्षेत्रमा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, मध्य क्षेत्रमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, पश्चिम क्षेत्रमा नगर प्रहरी नायव उपरीक्षक मीनबहादुर थापा र उत्तरमा नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टको नेतृत्वमा सहरी व्यवस्थापन अनुगमन, निरीक्षण, नियमन भइरहेको छ । अनुगमन टोलीले कसुरको मात्रा हेरेर जरिवाना गराउने र आवश्यक परे निर्माण सामग्री जफत गराउने गरेको छ ।
अनुगमनका क्रममा पहिले अनधिकृत कामका बारेमा जानकारी गराइन्छ । त्यसपछि सचेत गराइन्छ । यति गर्दा पनि नमानेपछि जरिवाना तिराउने, सामान जफत गर्ने जस्ता कारवाही गर्ने गरिएको छ ।
सडक, चोक तथा गल्लीमा निर्माण सामग्री, औजार तथा उपकरण राखेको देखिए काठमाडौँ महानगरपालिकाका हटलाइन नम्बरहरु ११९० र ५५११ मा सम्पर्क गर्न सकिन्छ । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, ‘गुनासो प्राप्त भयो भने तत्काल कारवाहीका लागि टोली परिचालन हुने व्यवस्था गरिएको छ ।’
२०८० बैसाख ४ गते काठमाडौँ महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै सहरको सार्वजनिक निजी पूर्वाधार निर्माण तथा मर्मत कार्यलाई व्यबस्थित र सुरक्षित बनाउन अपनाउनु पर्ने बिभिन्न मापदण्ड अपनाउन सरोकारवालाको ध्यानाकर्षण गराएको छ । सूचना कार्यान्वयन नगर्ने (सरकारी कार्यालय, फर्म, कम्पनी तथा संस्था र व्यक्ति) सबैलाई कारवाही गरिने सूचनामार्फत जानकारी गराइएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App