Logo

जेठ १० गतेभित्र कार्यक्रम पेश गर्न प्रमुख प्रशासकीय अधिकृत अधिकारीको निर्देशन 

जेठ १० गतेभित्र कार्यक्रम पेश गर्न प्रमुख प्रशासकीय अधिकृत अधिकारीको निर्देशन 

काठमाडौँ । आगामी बर्षको कार्यक्रम तर्जुमा गरेर ज्येष्ठ १० गतेभित्र पेश गरिसक्न काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आज काठमाडौँ प्लाजामा बसेको सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) बैठकमा उहाँले, चालु आर्थिक बर्षको सिलिङ् नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभएको हो । काठमाडौँ प्लाजामा बसेको यो पहिलो बैठक हो ।  

‘महानगर गौरवका योजना के हुन सक्छन्? सोच र परिकल्पना पत्र निर्माण गर्नोस् ।’ अधिकारीले भन्नुभयो, ‘हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनु पर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।’

आर्थिक बर्ष २०८०/०८१ अधुरा योजना पूरा गर्ने बर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न उहाँले जोड दिनुभयो । 

महानगरका विभागहरु काठमाडौँ प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो । अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरि सकेका छन् । अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरि सक्ने योजनामा छन् । 

कार्यालय सार्ने निहुँमा कुनै पनि सेवा रोकिनुहुन्न । सेवामा कोही पनि सेवाग्राहीले दुःख पाउनु हुँदैन । बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, प्लाजामा सहयोग कक्ष स्थापना गरेर सेवाग्राहीले सूचना दिने र सहयोग उपलब्ध गराउने बताउनुभयो । कार्यालय कता छ? अधिकारी कता छन्? सेवाग्राहीलाई थाहा नहुन सक्छ । सहायता कक्षबाट यस सम्बन्धी जानकारी र सहयोग प्राप्त हुनेछ । 

प्लाजाको वाहिर सेतो पृष्ठभूमिमा रातो अक्षरले महानगरपालिका लेखेको बोर्ड राखिसकिएको छ । भित्र विभागहरुको संकेतका लागि हरियो पृष्ठभूमिमा सेतो अक्षरले नाम लेखिनेछ । हरेक तलामा कुन कुन विभाग छन्, नाम लेखिनेछ । 

काठमाडौँ प्लाजाबाट राज घराना रेष्टुरेन्ट, निरमाया दोहोरी साँझ र मुक्तिनाथ विकास बैङ्क सरेका छैनन् । रेष्टुरेन्ट र दोहोरी साँझ ट्रष्टसँगको भाडा विवादमा शिलबन्दी गरिएको अवस्थामा छन् । बैङ्कले सर्ने बताएको छ । महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले जानकारी दिनुभयो । 
 
 

 

  • प्रकाशित मिति: आइतबार​ ३१ ैशाख २०८० १९:५०