वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
सार्वजनिक स्थलबाट ६८ गाडी फोहोर संकलन : काठमाडौँ महानगरपालिकाको विशेष सरसफाइ
काठमाडौँ । आज काठमाडौँ सहरका सार्वजनिक ठाउँमा भएको विशेष सरसफाइबाट ६८ गाडी फोहोर संकलन भएको छ । जसमा महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ वटा गाडी फोहोर संकलन गरेका थिए । यसबाट करिब ११८ मेट्रिक टन फोहोर संकलन भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ । जनप्रतिनिधिले पद बहाली गरेको १ बर्ष पूरा भएको अवसरमा सबै वडामा एकै पटक सरसफाइ गरिएको हो । सफाइका लागि ब्रमुर, जेटसहित साधन तथा उपकरण परिचालन गरिएको थियो ।
आज विहान ७ बजे सरसफाइ सुरु भएको थियो । यस क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोल, वडा नं. १२, २० र २१ का विभिन्न स्थानमा पुगेर सफाइ कार्यमा सहभागी हुनुभएको थियो ।
सरसफाईपछि प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सरसफाइ र स्वच्छता हाम्रो दायित्व हो । यो दायित्व सहभागितामूलक व्यवस्थापन पद्धतिले मात्र दिगो बन्छ । यसकारण सरसफाइ कार्यक्रमलाई अभियानका रुपमा नियमित सञ्चालन गरेर नागरिकको सहभागिता बढाउँदै लैजानुपर्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘फोहोर उत्पादक व्यवस्थापनप्रति जिम्मेवार हुनुपर्छ । यसका लागि आवश्यक पर्ने सहयोग महानगरले उपलब्ध गराउँछ ।’
कार्यक्रमको अनुगमनमा रहनुभएका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भन्नुभयो, ‘सरसफाइ र स्वच्छताका लागि महानगरपालिकाले जिम्मेवारी पूरा गर्छ, नागरिकले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’ कार्यक्रम सञ्चालन तयारीको सन्दर्भदेखि विभिन्न ठाउँमा पुगेको, विभिन्न क्षेत्रमा व्यक्तिसँग भेट गरिएको र आजको सरसफाइमा सहभागिताको विश्लेषण गर्दै उहाँले भन्नुभयो, ‘घर बनाउँदै गर्नुभएका महानगरबासीले सडकमा जथाभावी निर्माण सामग्री राखि दिँदा ढल बन्द भएको धेरै भेटियो । उत्पादित फोहोरलाई सही समय र ठाउँमा राख्नु पर्नेमा समुदायले जिम्मेवारी पूरा गरेको देखिएन । यसलाई नियमन गर्नुपर्ने नाइकेको र निजी क्षेत्रको भूमिका प्रभावकारी देखिएन ।’
आफूले फोहोर उत्पादन गर्ने, व्यवस्थापन चाहिँ नगरपालिकाले गरिदेओस् भन्ने नागरिक मनोविज्ञान सबैभन्दा ठूलो समस्या हो । अधिकारीले भन्नुभयो, ‘आजको सरसफाइमा अपेक्षित सहभागिता हुन सकेन । यो नागरिक मनोविज्ञानको बिम्ब हो ।’
कार्यक्रमलाई व्यवस्थित गर्न हरेक वडामा टोली प्रमुखसहित सहयोगी अधिकृत कर्मचारी, वडा सचिव, सेनिटेसन सुपरभाइजर, एक जना नगर प्रहरी र नाइके कर्मचारीको टोली खटाइएको थियो ।
टोलीले वडाध्यक्ष, सदस्य तथा वडाका अधिकारीसँग बैठक बसेर सफाइका लागि भेट गर्ने ठाउँ, सफाइ गरिने क्षेत्रलगायत विषयमा निर्णय गरेको थियो ।
सफाइका क्रममा सडक, पार्क, नदी किनारामा भेटिएको फोहोर टिपिएको थियो । यस्तै घरका दैलो दैलोमा पुगेर जथाभावी फोहोर बाहिर ननिकाल्न आग्रह गरिएको थियो । यस क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, ‘स्वच्छ सहर निर्माण गर्ने महानगरको दायित्व हो । नागरिकको सहभागितामा सरसफाइ गरेर सहरी स्वच्छतालाई दिगो बनाउने अभियानका रुपमा विशेष सरसफाइलाई लिनुपर्छ । यस्ता कार्यक्रम नियमित चल्दै गए भने समस्या समाधानका लागि नागरिक तहबाट अपनत्व बोध हुन थाल्छ । स्वच्छताको दिगोपनाका लागि यही महत्वपूर्ण कदम हो ।’
सफाइका क्रममा सहरलाई प्रदुषित हुनबाट रोक्ने प्रयासमा नागरिकलाई सहभागी गराइएको थियो । यस्तै दैलोमा पुगेर फोहोरलाई स्रोतमा बर्गीकरण गर्न, उचित समयमा जिम्मेवार फोहोर संकलकको सवारी साधनमा मात्र फोहोर जिम्मा लगाउन, जैविक फोहोरलाई घरमै व्यवस्थापन, पुनःप्रयोग र पुनः चक्रिय प्रयोगबाट घटाउन, प्लाष्टिकका झोलाको प्रयोग कम गर्न अनुरोध गरिएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App