असार ६ गते नगर सभाको १३ औँ अधिवेशन आव्हान, १० गते बजेट कार्यक्रम
काठमाडौँ । असार ६ गते नगर सभाको १३ औँ अधिवेशन आव्हान गर्ने निर्णयसहित आज काठमाडौँ महानगरपालिकाको १६ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठक कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ४ र बागमती प्रदेश सभाले जारी गरेको पालिका तथा जिल्ला सभा सञ्चालन कार्यविधि ऐनबमोजिम अधिवेश आव्हान गरिएको हो ।
बैठकले असार १० गते आ. व. २०८०/०८१ को बजेट तथा कार्यक्रम नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।
बैठकका अध्यक्ष एवं महानगरका कार्यवाहक प्रमुखले नगर सभाको अधिवेशन र बजेट तथा कार्यक्रम पेश गर्ने सम्बन्धमा प्रस्ताव राख्नुभएको थियो । वैठकले प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
तस्विर : विनय शाक्य