सांस्कृतिक अर्केष्ट्रा सम्पन्न : ३ सय बढी कलाकार एकैपटक एउटै मञ्चमा
काठमाडौँ । काठमाडौँको खुल्ला मञ्चमा नेपाल अर्केष्ट्रा (सांस्कृतिक कार्यक्रम) सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाको संस्कृति तथा पर्यटन समिति र ज्यापू महागुथि नेपाः केन्द्रीय समितिको संयुक्त आयोजनामा ज्येष्ठ २७ गते शनिबार कार्यक्रम आयोजना गरिएको थियो । अन्तरराष्ट्रिय संगीत दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा काठमाडौँका ज्यापूः सहित नेवार र नेपालका विविध जातजाति भाषाभाषीले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा प्रयोग गर्ने बाद्यबादन (लोक बाजा) हरुको प्रतिनिधिमुलक प्रस्तुति राखिएको थियो ।
युवा पुस्तालाई मौलिक परम्परागत बाजागाजा र संगीत क्षेत्रमा आकर्षित गरी पुस्तान्तरण, विकास र विस्तार गर्ने कार्यक्रम आयोजनाको मुख्य उद्देश्य थियो । सांस्कृतिक एवं सांगीतिक पर्यटन गर्ने, लोक जीवनमा आधारित गीत र संगीतको प्रवर्धन गर्ने कार्यत्रक्रमको मुख्य उद्देश्य थियो ।
कार्यक्रममा काठमाडौँका परम्परागत बाद्य तथा गायनसँग सम्बन्धित धुन्या, निस्तेनाथ ग्वारा (बाह्रमास), मंगल धुन (धन्य धाये लोकेश्वर), नेवा राष्ट्रिय म्ये (गीत), ज्यापू महागुथिया म्ये (गीत), पाहाँचः¥हे (धातु), सिनाज्या गुलित फसात (वाह्रमासे) जिगु थ्व मनलगायत प्रस्तुति थिए । यी प्रस्तुतिमा धिमे, भुस्या, मादल, बाँसुरी, शंख, गं, घौ, चग्व, पोंगा, बबु, ता, खिं, पछिमा, नायोखिं, दं, डम्फु, ढोलक, नगरा, टुङ्ना, मुचुङ्था, खैजडीलगायत ४० प्रकारका बाद्य सामग्री प्रयोग गरिएका थिए । प्रस्तुतिमा खेम्ता, दिपचण्डी, प्रताल, च्वः, पलेमा, अस्तरा, जति, दादरा, कहरवा, लंतालगायत तालमा एकसाथ बाद्यबादन गरिएको थियो । कार्यक्रममा देशका विभिन्न स्थानका मौलिक गायन, बाद्यबादन तथा सांस्कृतिक एवं सामाजिक क्रियाकलापसँग सम्बन्धित ३३ प्रकारका प्रस्तुति राखिएका थिए । यस क्रममा तामाङ् सेलो, नौमती, समला, टप्पा, सिलु, झाँगड, चण्डी, चाँचर, मारुनीलगायत प्रस्तुत भए । कार्यक्रममा करिब ३ कलाकारले प्रस्तुति गरेका थिए ।
कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले, अर्केष्ट्रा प्रस्तुतिबाट मौलिक बाद्यबादन र गायन शैलीलाई जोगाउन सकिने बताउनुभयो । यसका क्रियाकलापको प्रवर्धनका लागि सरकारले सहयोग गर्नेछ, प्रधानमन्त्री दाहालको भनाइ थियो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, थरीथरीका बाजा बजाउँदा कर्णप्रिय एउटै धुन निस्किएजस्तै विविध राजनीतिक तथा सामाजिक परिस्थितिबाट साझा सोच निर्माण गर्नु पर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । परम्परागत बाजागाजा, गायन तथा यससँग सम्बन्धित मूर्त अमूर्त सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवर्धन कार्यलाई महानगरपालिकाले मुख्य दायित्वका रुपमा पूरा गर्नेछ, उहाँको भनाइ थियो ।
महानगरको संस्कृति पर्यटन समितिका संयोजक आशामान संगतले, नेपालको पहिचान बहुल सांगीतिक भएको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यो देश बहुभाषिक, बहुजातीय, बहु सांस्कृतिक त हुँदै हो । नेपालभित्रका विविध जातजाति र समुदायमा मौलिक पहिचान भएका बाद्यबादन र गायन छन् । यसलाई जोगाउन महानगरले प्रयास गरेको हो । संगतको भनाइ थियो ।
ज्यापू, आदिवासी नेवार जातिभित्रको एउटा समुदाय हो ।