‘शिक्षामा सिप’ र ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम अनुगमन निरीक्षणमा महानगरका प्रमुख उपप्रमुख
काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययरत छात्रछात्राले स्वाबलम्बनका कुरा निर्धक्क बोल्न सक्नु ‘शिक्षामा सिप’ र ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमको नतिजा भएको हो । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘अनुगमनका क्रममा विद्यालयहरुमा पुग्दा विद्यार्थीहरु पाठ पढेको भन्दा जीवन जिउने कला सिकेको महसुस गरिरहेका देखिन्थे । उनीहरुका शिक्षकहरु जीवनमा आइ पर्ने सानातिना समस्या आफैँ कसरी समाधान गर्र्ने सिप सिकाइरहेका थिए ।’
नतिजाका बारेमा थप स्पष्ट पार्दै प्रमुख शाहले, पाठ्यक्रममा आधारित पाठ्यसामग्री विद्यालय र शिक्षक आफैँ निर्माण गर्न सक्छन् भन्ने पुष्टि भएको बताउनुभयो । स्थानीय स्तरमा उपलब्ध बस्तुबाट तयार पारिएका पाठ्यसामग्री विद्यार्थीहरुका लागि सहजै ग्रहण गर्न सक्ने खालका हुने उहाँको भनाइ छ ।
अनुगमनका क्रममा उपप्रमुख सुनिता डंगोलले, अहिले सञ्चालन थरिएका क्रियाकलापले विद्यार्थीहरुलाई कक्षा कोठामा मात्र नभइ जीवनका कठिन परिस्थितिलाई सहज बनाउन काम लाग्ने बताउनुभयो । ‘कक्षाहरु मनोरञ्जनात्मक छन् । विद्यार्थीहरुमा सिपप्रति उत्सुकता छ । सबैतर्फबाट यसलाई ग्रहण गरिएको छ ।’ नतिजाका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नका लागि महानगरले सञ्चालन गरेका कार्यक्रमबाट ठूलो योगदान पुग्नेछ ।’
प्रमुख शाह वडा नं. ६ वौद्धमा रहेको जनकल्याण माध्यमिक विद्यालय पुग्दा स्काउटका विद्यार्थीहरु स्वागतमा लाइनबद्ध थिए । स्टिम क्लवका विद्यार्थी जल विद्युत उत्पादन गर्ने इञ्जिनियरिङ् अभ्यास गरिरहेका थिए । सिपमा शिक्षा कार्यक्रमका विद्यार्थी सिलाइ बुनाइ र फेसन डिजाइनिङ्मा काम गरिरहेका थिए । केही विद्यार्थी पाक कलामा कोही नृत्यमा व्यस्त थिए ।
त्यसपछि प्रमुख शाह, पशुपति मित्र विद्यालयमा पुग्दा विद्यार्थीहरु समूह समूहमा बाँडिएर विभिन्न क्रियाकलाप गरिरहेका थिए । सिभिल इञ्जिनियरिङ्, बक्तृत्व्कला, विज्ञान प्रयोगशालामा प्रयोगात्मक कक्षा चलिरहेका थिए । केही विद्यार्थीहरु वक्तृत्वकला प्रतियोगितामा सहभागी थिए ।
उपप्रमुखले वडा नंं १ को नन्दी माध्यमिक विद्यालय र वडा नं. २८ को सहिद शुक्र माध्यमिक विद्यालय पुग्नु भएको थियो । यी दुवै विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत फेसन डिजाइन र सिलाइ बुनाइ कार्यक्रम चलेका छन् ।
आज निरीक्षण गरिएका विद्यालयहरुमध्ये जनकल्याण मा. वि. मा सबैभन्दा धेरै करिब २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।