Logo

मोबाइल एण्ड इलेक्ट्रोनिक्स : धेरै विद्यार्थीहरुको रुचिमा परेको विषय

मोबाइल एण्ड इलेक्ट्रोनिक्स : धेरै विद्यार्थीहरुको रुचिमा परेको विषय

काठमाडौँ । महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये धेरैले मोबाइल र इलेक्ट्रोनिक्स (मोवाइल र विद्युतीय सामान मर्मत) विषय सिक्न रुचि देखाएका छन् । २०८० बैशाखबाट सुरु गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गत सञ्चालन भएको तालिमका १० वटा विधामध्ये यो विधामा धेरै रुचि देखाएका हुन् ।  

कार्यक्रमअन्तर्गत ५६ वटा विद्यालयमा ९० घण्टे तालिम सञ्चालन भइरहेको छ । प्रतिस्पर्धी जीवनका लागि व्यावहारिक शिक्षा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हो । यसले विद्यार्थीहरुमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुन थालेको छ । सिपमूलक तालिम सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीका लागि हो । यो कक्षा हरेक शुक्रबार हुन्छ । बुक फ्रि डे भएकोले यस दिन विद्यालयमा कोही पनि विद्यार्थीले किताब बोकेर आउनु पर्दैछ । सिपमूलक तालिममा सहभागी नहुनेहरु अन्य अतिरिक्त क्रियाकलापमा सहभागी हुन्छन् । तालिमको १ समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिएका छन् । कार्यक्रमको शुरुवात अर्थात् पहिलो बर्ष (शैक्षिक सत्र २०८०) मा कक्षा ९ का लागि नमूना कार्यक्रमका रुपमा चलाइएको छ । 
 
निर्दिष्ट गरिएका विधामध्ये धेरै विद्यार्थीहरुको सहभागिता मोवाइल एण्ड एलेक्ट्रोनिक्स विधामा छ । यसमा २२ वटा कक्षा चलेका छन् । दोस्रो रुचिको विधामा कुलिनरी आर्टस छ । यसमा १३ वटा कक्षा छन् । यस्तै व्युटिसियन एण्ड हेयर स्टायलमा १२ वटा, फेसन डिजाइन एण्ड क्लोथिङ्क कन्स्ट्रक्सन (फेसन डिजाइन र कपडा निर्माण)मा ११ वटा, घरमा तार र विजुली जडान (हाउस वायरिङ् एण्ड इलेक्ट्रिकल) मा ९ वटा, एग्रिकल्चर एण्ड अर्वन फार्मिङ्गमा ६ वटा,  प्लम्बिङ्मा ३ वटा, कला र मूर्तिकला (स्केचिङ् एण्ड स्कप्चर) मा २ वटा,  कार्पेन्ट्री एण्ड उड कार्भिङ् (काठमा बुट्टा कुँदेर बेलबुट्टा भर्ने काम) र विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) डकर्मी कलामा १/१ वटा कक्षा चलेका छन् । 

तोकिएकामध्ये धेरै विधामा कक्षा चलाउने स्कूल, बालाजुमा रहेको तरुण माध्यमिक विद्यालय हो । यस विद्यालयले मोवाइल एण्ड इलेक्ट्रोनिक्समा २ वटा, कलिनरी आर्टस् र एग्रिकल्चर एण्ड अर्वन फार्मिङ्मा १÷१ वटा कक्षा चलाएको छ । ३ वटा विधामा तालिम चलाउने ४ वटा विद्यालय छन् । त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मा. वि., महाराजगञ्जमा रहेको शिवपुरी मा. वि., बानेश्वरमा रहेको रत्नराज्य मा. वि. र बाफलमा रहेको ज्ञानोदय मा. वि. ३÷३ वटा विधामा तालिम चलाउने विद्यालय हुन् । २ वटा विधामा तालिम चलाउने विद्यालयको संख्या १३ र १ वटा मात्र विधामा तालिम चलाउने विद्यालयहरु ३८ वटा छन् । 

  • प्रकाशित मिति: आइतबा​ ३ असर २०८० १५:३०