Logo

काठमाडौँ महानगरपालिका भित्रका सिनेमा हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक 

काठमाडौँ महानगरपालिका भित्रका सिनेमा हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि आफ्नो भौगोलिक क्षेत्राधिकारभित्र रहेका सिनेमा घरहरुमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको छ । भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन दिइएको ३ दिनको अवधिमा भ्रामक सन्देश नहटाउपछि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाइएको, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ ।  

‘नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’ प्रमुख शाह भन्नुहुन्छ, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

प्रमुख शाह भन्नुहुन्छ, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्र प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित हुन्छ । यो मर्ममाथिको प्रहारप्रति सबै संवेदनशील हुन आवश्यक छ ।’

महानगरपालिकाभित्र १७ वटा सिनेमा हल छन् । आज नगर प्रहरी बलबाट हल हलमा पुगेर भोलिबाट सिनेमा प्रदर्शन नगर्न अनुरोध गरेका छन् । भोलि हलमा चलचित्र प्रदर्शनको अनुगमन हुनेछ ।  

 

  • प्रकाशित मिति: आइतबार​ ३ असर २०८० २०:३५