Logo

२५ अर्व ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट तथा कार्यक्रम सभामा पेश 

२५ अर्व ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट तथा कार्यक्रम सभामा पेश 

काठमाडौँ । आर्थिक बर्ष २०८०/०८१ का लागि काठमाडौँ महानगरपालिकाको नगर सभामा २५ अर्व ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेश भएको छ । यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । यो क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत हो । आज राष्ट्रिय सभा गृहमा नगर सभा १३ औँ अधिवेशनको तेस्रो बैठकमा बजेट तर्जुमा समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नुभएको हो । सभामा वार्षिक बजेटसँगै प्रमुख बालेन्द्र शाह (बालेन) ले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गर्नुभएको थियो । 

सभामा पेश भएको बजेट, चालु आर्थिक बर्षको समीक्षा तथा आर्थिक विधेयकमा समावेश भएका राजस्व तथा कर सम्बन्धी प्रस्ताव र सञ्चित कोष खर्चका क्षेत्र सम्बन्धी बिनियोजन विधेयक प्रस्तुतिको भिडियो हेर्न लिङ्क थिच्नुहोला https://www.youtube.com/watch?v=KpCByu4HlnY

चालु आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक आयतर्फ ४ अर्ब ८५ करोड १ लाख रुपैयाँ, राजस्व बाँडफाँडतर्फ ३ अर्ब ४१ करोड ३७ लाख ७३ हजार रुपैयाँ र अनुदानतर्फ २ अर्ब १५ करोड ५६ लाख ७६ हजार रुपैयाँ गरी जम्मा १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको थियो । यसमध्ये २०८० असार ७ गतेसम्ममा आन्तरिक आयतर्फ ४ अर्ब ८८ करोड ८७ लाख ३१ हजार रुपैयाँ, राजस्व बाँडफाँडतर्फ १ अर्ब ५८ करोड ४२ लाख ६६ हजार रुपैयाँ र अनुदानतर्फ १ अर्ब ९६ करोड ९६ लाख ८ हजार रुपैयाँ गरी जम्मा ८ अर्ब ४४ करोड २६ लाख ५ हजार संकलन भएको छ । यो लक्ष्यको ८१.०३ प्रतिशत हो । 

प्रस्तावित खर्चमध्ये आर्थिक विकासतर्फ २२ करोड ९२ लाख ५० हजार रुपैयाँ, कार्यालय सञ्चालनतर्फ ३ अर्ब ५३ करोड ८१ लाख ४४ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ १३ अर्ब ७ करोड १९ लाख ४४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ३ अर्ब ६८ करोड ७८ लाख ९५ हजार रुपैयाँ र सुशासन तथा अन्तर सम्बन्धतर्फ २ अर्ब १ करोड ६ लाख ५४ हजार रुपैयाँ गरी जम्मा २२ अर्ब ५३ करोड ७८ लाख ८७ हजार बिनियोजन गरिएको थियो । यसमध्ये २०८० असार ७ गते सम्ममा आर्थिक विकासतर्फ २ करोड ५७ लाख १६ हजार रुपैयाँ, कार्यालय सञ्चालनतर्फ २ अर्ब २५ करोड ७७ लाख १२ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २ अर्ब ८२ करोड १० लाख ०८ हजार रुपैयाँ, सामाजिक विकासतर्फ  १ अर्ब ५६ करोड १६ लाख ८२ हजार रुपैयाँ र सुशासन तथा अन्तर सम्बन्धतर्फ ३४ करोड ३६ लाख ८१ हजार गरी जम्मा  ७ अर्ब ९७ लाख ९९ हजार खर्च भएको छ । यो ३१.१ प्रतिशत हो । 

अपेक्षित खर्च हुन नसक्नुमा सार्वजनिक खरिद प्रक्रिया, योजना छनौट र प्राथमिकीकरण, संस्थागत क्षमता एवं अन्तर तह तथा निकाय बिचको समन्वयमा कमी लगायतका कारण भएको सभामा उपप्रमुख डंगोलले उल्लेख गर्नुभयो । 

अधिवेशनको पहिलो बैठक असार ६ गते भएको थियो । त्यस बैठकमा प्रमुख शाहले वार्षिक नीति पेश गर्नुभएको थियो । ती नीतिहरु असार ८ गते बसेको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो । 

तस्विर : विनय शाक्य 

  • प्रकाशित मिति: आइतबार​ १० असर २०८० १८:२७