शिक्षकहरुलाई कानुनबमोजिम तलब, सेवा उपलब्ध गराउन संस्थागत विद्यालयलाई प्रमुख शाहको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संस्थागत विद्यालयका शिक्षकहरुलाई कानुनले तोकेबमोजिम तलब तथा सुविधा उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । संस्थागत (निजी) विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउन थालेपछि प्रमुख शाहले, पद/श्रेणी, सुरु तलब र कायम जम्मा तलब उल्लेख गर्दै तोकिएबमोजिम प्राप्त नभए शिक्षा विभागमा सम्पर्क गर्न संस्थागत विद्यालयका शिक्षकहरुलाई सूचित गर्नुभएको छ ।
‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने व्यवस्था छ । काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका सुविधा सम्बन्धी व्यवस्था छ ।