अवकाश लिनेबाट जिम्मेवारी सम्हाल्नेलाई सिप हस्तान्तरणमा जोड
काठमाडौँ । अवकाश भएर जाने अधिकारीले जिम्मेवारी सम्हाल्ने व्यक्तिलाई सिप हस्तान्तरण गर्दै जानु पर्ने काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले बताउनुभएको छ । आजैबाट अवकाश प्राप्त गर्नुभएका पूर्णबहादुर महर्जनको विदाइ कार्यक्रममा बोल्दै उहाँले, ज्ञान र सिप हस्तान्तरणको प्रक्रिया निर्धारण गरिएन भने विगतसँग सम्बन्धित सूचना हराउँदै जाने खतरा हुने बताउनुभयो । यसले अधिकारीको परिवर्तनसँगै सबै काम नयाँ विन्दुबाट थालनी गर्नु पर्ने अवस्था आउन सक्छ । उहाँले बताउनुभयो ।
त्यस अवसरमा महर्जनले, सकारात्मक सोचले काम गर्ने हो भने कार्यालय व्यवस्थापन र नतिजा प्राप्त गर्न सहज हुने धारणा राख्नुभयो । त्यस्तै स्टेशन म्यानेजर केशवप्रसाद नेपाल ‘केशु’ ले पत्रकारितामा अग्रजहरुबाट प्राप्त हुने सिकाइ नयाँ प्रविधिसँग जोडिनमा उपयोगी हुने धारणा राख्नुभयो ।
कार्यक्रममा पत्रकार, सञ्चारकर्मीहरुले महर्जनको सेवा अवधिमा भएका उपलब्धीहरुको चर्चा गर्नुभएको थियो ।
महर्जन २०५५ साल कार्तिक ४ गते नायव सुब्बाका रुपमा महानगरको सेवामा प्रवेश गर्नुभएको थियो । उहाँको सेवा प्रवेशका समयमा मेट्रो एफ. एम. परीक्षण अवधिमा थियो । त्यस समयदेखि अहिलेसम्म उहाँले नियमित रेडियोमा रहेर काम गर्नुभयो । अवकाश हुने समयमा वरिष्ठ अधिकृत आठौँसम्मका तह र पदमा बसेर काम गर्नुभयो ।