Logo

करदातालाई काठमाडौँ महानगरपालिकाको कर छुट सुविधा 

करदातालाई काठमाडौँ महानगरपालिकाको कर छुट सुविधा 

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । आर्थिक ऐन २०८० मा यस सम्बन्धी व्यवस्था गरिएको छ । 

सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ । छुट सुविधा वडा कार्यालयबाट लिन सकिने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । 

सालबसाली नियमित कर दाखिला गर्ने सम्पत्ति कर र व्यवसाय बहाल कर दातालाई २०८० पुस मसान्तसम्म रकममा १०% छुट हुनेछ । महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका कर दातालाई बक्यौता सहितको सम्पत्ति करमा ३०% छुट दिइएको छ । यो सुविधा पुस मसान्तसम्म मात्र हुनेछ । 

व्यावसायिक रूपमा सवारी साधन पार्किड प्रयोजनका लागि भवन निर्माण गर्ने कर दातालाई भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ । एक वडा एक नमूना उद्यम कार्यक्रम अन्तर्गत सञ्चालित उद्योग वा व्यवसायहरूको दर्ता भएको ३ वर्षसम्म निजले तिर्न बुझाउनु पर्ने व्यवसाय कर र शुल्कको १५% छूट हुनेछ । चालु आर्थिक वर्षसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका ५ लाखसम्म पुँजीगत लगानी भएका उद्योग व्यवसाय, कम्पनी, संस्थाले २०८० पौष मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४०% र नियमित कर दाखिला गर्ने कर दाताका हकमा कर रकमको २५% छुट हुनेछ । 

यो छुट काठमाडौं महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचय पत्र वा बसाई सराइ प्रमाण पत्रका आधारमा दिइनेछ । 

  • प्रकाशित मिति: बिहीबार ११ साउन २०८० १४:४१