कार्यालय सहयोगी पदको सेवा करारका लागि योग्यता क्रमको अन्तिम नामावली प्रकाशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज कार्यालय सहयोगी पदमा करार सेवाका लागि योग्यता क्रमको अन्तिम नतिजा सूची प्रकाशन गरेको छ । रिक्त ५१ पदका लागि लिइएको अन्तरवार्ताबाट योग्यता क्रमको सूची प्रकाशन गरेको हो । महानगरपालिकाको संगठन संरचना, स्वीकृत दरबन्दी र पदाधिकारी तथा प्रशासनिक एकाइहरुको कार्य विवरण – २०७७ ले कार्यालय सहयोगीका लागि १३७ दरबन्दी कायम गरेको छ । रिक्त दरबन्दीमा सेवा करारमा आवेदन दिन २०७९ चैत २० गते पहिलो पटक सार्वजनिक सूचना प्रकाशन भयो । यही सूचनामा शैक्षिक योग्यता सम्बन्धी व्यवस्था थप स्पष्ट पारेर चैत २४ गते अर्को सूचना प्रकाशन भयो ।
उम्मेदवारबाट अनलाइनबाट आवेदन लिइएको थियो । यस पदका लागि २ हजार २६६ जनाले आवेदन दिए । यसमा १६२ जना दोब्बर दस्तुर तिरेर फारम भर्ने उम्मेदवार पूर्ण थिए । चाहिने विवरण तथा कागजपत्र नराख्ने ३३९ जना उम्मेदवारको आवेदन रद्द भयो । बाँकी उम्मेदवारमध्ये अन्तरवार्ताका लागि ६६३ उम्मेदवार छनौट भए ।
छानिएका उम्मेवारहरुको अन्तरवार्ता र अन्तरवार्ताका लागि सूचीकृत उमेदवारहरुको नामावली असार १३ गते प्रकाशन भयो । साउन ५ र ६ गते वालाजु उद्यानमा रहेको भवनमा अन्तरवार्ता भयो । ७ वटा अन्तरवार्ता समितिमा विज्ञ सदस्य सहित २८ जना अन्तरवार्ताकार हुनुहुन्थ्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २ जना उपसचिव, लोकसेवा आयोगका २ जना अधिकृत कर्मचारी र महानगरपालिकाका अधिकृत स्तरका २ जना कर्मचारीले अन्तरवार्ताका लागि प्रश्न तयार पार्नुभएको थियो ।
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ अनुरुप सेवा करारमा पदपूर्ति गर्न प्रशासन विभागबाट अनुरोध भएको थियो । महानगरपालिकाको करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम पद पूर्तिको प्रक्रिया सम्पन्न गरिएको हो ।