अनुगमनको साप्ताहिक समीक्षा र योजना सुरु
काठमाडौँ । हरेक आइतबार अनुगमन मूल्याङ्कन समितिमा अनुगमनका क्षेत्रमा भएका साप्ताहिक कामको रिपोर्टिङ् थालिएको छ । सम्पन्न हप्ताका लागि गरिएका योजना तथा तोकिएका कामको प्रगति समीक्षा गर्ने र त्यस हप्ताका लागि गरिने कामको योजना बनाउने विषय पेश हुनेछन् ।
गएको हप्ता आइतबार बसेको बैठकले आइतबारलाई समीक्षा र योजना निर्माण गर्ने दिनका रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आज बसेको बैठकमा योजना, अनुगमन तथा मूल्याङ्कन एकाईका उपनिर्देक प्रहलाद घिमिरेले गएको हप्ता गरिएका कामको विवरण पेश गर्नुभयो ।
गएको हप्तामा विभाग स्तरका अनुगमन सबालका विषयमा छलफल थियो । त्यस्तै अनुगमन तथा मूल्याङ्कन योजना र नीति कार्यान्वयन योजनाका बारेमा विभागीय प्रमुख र महाशाखा प्रमुखहरुलाई अभिमुखीकरण गरिएको थियो ।
बैठकमा बोल्दै उपप्रमुख एवं समितिकी संयोजक डंगोलले, प्रभावकारी अनुगमनबाट महानगरको कार्य प्रणालीमा सुधार हुने, वार्षिक प्रगतिमा सुधार गर्ने लक्ष्यसहित अगाडि बढेका छौँ ।
यो हप्ता बाँकी रहेका विभागहरुसँग छलफल गरिसक्ने योजना बनाइएको उपनिर्देशक घिमिरेको भनाइ छ । यससँगै वडाध्यक्ष र वडासचिवहरुसँग समूह विभाजन गरेर सवाल र अपेक्षाका विषयमा अन्तरक्रियात्मक छलफल गर्ने योजना छ ।
यसरी चलाइएको छलफलबाट प्राप्त सुझावका आधारमा अनुगमन कार्यविधि तर्जुमा गरिने योजना छ । यही सूचना, धारणा तथा विवरणलाई मूल्याङ्कन दिग्दर्शन निर्माणका लागि पनि उपयोग गरिनेछ ।