वार्षिक प्रगति तथा प्रतिवेदन कार्यदलले काम थाल्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वार्षिक समिक्षा तथा प्रतिवेदन तयारी कार्यदलले प्रगति विवरणको ढाँचा निर्माण गर्ने, प्रतिवेदनको ढाँचा बनाउने, ढाँचा र आवश्यक सूचना माग गर्ने काम थालेको छ । यस क्रममा आज विभागका लागि अभिमुखीकरण आयोजना गरियो ।
अभिमुखीकरणमा प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, समयमा विवरण उपलब्ध गराउन विभाग र महाशाखालाई आग्रह गर्नुभयो । तोकिएको ढाँचामा मागिएका विवरण उपलब्ध गराउनुहोला । यसरी संकलन हुने विवरणका आधारमा तोकिएको समयभित्रै वार्षिक प्रगति समीक्षा गर्न सकियो भने आउँदो बर्ष विगतका त्रुटी सच्याउन सहयोग हुनेछ । उहाँको भनाइ थियो ।
अभिमुखीकरणमा उपनिर्देशक एवम् कार्यदलका संयोजक प्रहलाद घिमिरेले, विभागस्तरीय कार्यक्रम सञ्चालन गर्दा देखा परेका समस्या, समस्या समाधानका लागि गरिएका प्रयास, सिकाइहरू र असल अभ्यास, बजेट तथा कार्यक्रममा नभएको तर सञ्चालन गरिएको कार्यक्रमका बारेमा विवरण अपेक्षा गरिएको बताउनुभयो । विवरण संकलनका लागि हामी विभागमै जानेछौँ । त्यहाँबाट संकलन भएका तथा यस अभि नै अभिलेखन भएका विवरण विश्लेषण गरेर वार्षिक प्रगति प्रतिवेदनमा सम्लग्न गर्नेछौँ । घिमिरेको भनाइ थियो ।
अभिमुखीकरणमा तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले, योजना तर्जुमासँग सम्बन्धित अनुसूचीमा उल्लेख भएका विवरणमा छलफल गर्दै यो चरणमा तोकिएका ढाँचामा काम गरिएन भने ढाँचाबमोजिमको प्रगति निकाल्न कठिन हुने उल्लेख गर्नुभयो । बजेट कार्यक्रम र प्रगतिका मुख्य अङ्गका आधारमा काम गर्न सकियो भने नतिजा मापन गर्न सहज हुने उहाँको भनाइ थियो ।
अभिमुखीकरणमा सालबसाली योजना, आवधिक योजना, चौमासिक परिणाम, वार्षिक परिणाम, त्रैमासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक भार, वार्षिक प्रतिवेदनसँग सम्बन्धित ढाँचा, सुत्र र गणना विधिका विषयमा छलफल भएको थियो ।