Logo

काठमाडौँ महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा काफ्ले नियुक्त

काठमाडौँ महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा काफ्ले नियुक्त

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त हुनुभएको छ । सञ्चार, सूचना तथा तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम उहाँलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको हो । यस दफामा सूचना प्रविधि विभागका प्रमुख सञ्चार रजिस्ट्रार हुने व्यवस्था गरिएको छ । काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आउनु भएको छ । विभागीय प्रमुखसँगै काफ्लेले रजिष्ट्रारको कार्य जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँले आजै पदबहाली गर्नुभयो । यस अघि उहाँ सार्वजनिक निजी साझेदारी एकाईमा हुनुहुन्थ्यो । 

स्थानीय पत्रपत्रिका, एफ. एम. रेडियो, केवल टेलिभिजन, अनलाइन श्रव्यदृश्य माध्यम एवं अनलाइन पत्रपत्रिकाको अभिलेखन, नविकरण र नियमन गर्ने र अभिलेखन भएका सञ्चार माध्यमहरुलाई कुनै खास स्थान, अवधि वा एक बर्षसम्मको प्रेस पास जारी गर्ने काम रजिष्ट्रारबाट हुनेछ ।  

महानगरपालिकाको तथ्याङ्क र सूचना प्रविधि व्यवस्थापन, वेभ साइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रुपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने गराउने रजिस्ट्रारका मुख्य काम हुन् । 

नेपालको संविधानको धारा २२६ (१) को व्यवस्थाबमोजिम अनुसूची ८ र ९ मा रहेको अधिकार बाँडफाँडको सूचीमा उल्लेख भएको सञ्चार सम्बन्धी अधिकारको प्रयोग गर्न महानगरपालिकाको २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनबाट ऐन जारी भएको हो । पत्रकारिता, प्रकाशन, प्रसारण, पत्रपत्रिका, सूचना, तथ्याङ्क, अभिलेख व्यवस्थापन र नियमन गर्न स्पष्ट कानुनी व्यवस्थाका लागि ऐन जारी गरिएको हो । विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग, सञ्चार र सूचनाको हक प्रत्याभूत गराउने विषयमा ऐनमा व्यवस्था गरिएको छ । महानगरपालिकाको सूचना, तथ्याङ्क र अभिलेखन कार्यको सवलीकरण, दिगो व्यवस्थापन, सुरक्षित र विश्वसनीय प्रयोगको व्यवस्था ऐनका मुख्य विशेषता हुन् ।  

तस्विर : विनय शाक्य

 

  • प्रकाशित मिति: बुधबार ६ भदौ २०८० १७:१२