वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
एकीकृत र समन्वयात्मक पूर्वाधार विकासका लागि महानगरपालिकामा सम्पर्क कार्यालय खोल्नेछौँ — प्रमुख शाह
काठमाडौँ । एकीकृत पूर्वाधार विकास र विकास साझेदार बिचको समन्वयका लागि काठमाडौँ महानगरपालिकामा सम्पर्क कार्यालय स्थापना गर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिनुभएको छ । आज पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँग सम्पन्न बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो, ‘विकासका दायित्व भएका कार्यालयहरु फरक ठाउँमा हुँदा कुनै काम अर्काको जिम्मेवारीमा भएको देखाएर तर्किन सजिलो भयो । यसलाई अन्तरसम्बन्धित बनाउन साझेदार कार्यालयलाई यस अघि पनि अनुरोध भएको हो । त्यसको नतिजा देखिएन । त्यसैले सबै कार्यालयका प्रतिनिधि रहने गरी महानगरमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको हो ।’ उहाँले थप्दै भन्नुभयो, ‘सबै कार्यालयका प्रतिनिधि एकै ठाउँमा भेटेपछि सेवाग्राहीले समस्या लिएर ठाउँठाउँमा धाउनु पर्दैन । पूर्वाधार निर्माण गर्नु पर्ने, मर्मत गर्नु पर्ने, खाल्टाखुल्टी टाल्नु पर्ने कामका लागि यही सम्पर्क कार्यालयका अधिकारीले काम गर्नेछन् ।’
बैठकले सम्पर्क कार्यालय स्थापना गर्ने, पानी तथा ढल चुहावट भएको ठाउँमा तत्काल महानगरपालिकाले मर्मत सम्भार गर्ने त्यसको खर्च सम्बन्धित कार्यालयले व्यहोर्नु पर्ने र अनुमति नलिई कसैले पनि सडक खन्न नपाउने निर्णय भएको छ । ढल निकास, टेलिफोन तथा विद्युत सेवा, खानेपानी वितरण प्रणाली जुनसुकै क्षेत्रको काम गर्नु परे पनि अब महानगरपालिकाको स्वामित्वमा भएका सडक खण्डमा काम गर्न महानगरपालिकासँग र सडक विभागको स्वामित्वमा भएका सडक खन्न विभागसँग स्वीकृति लिनु पर्नेछ । सडकमा भएका खाल्टाखुल्टी लामो समयसम्म नटालिने गरेको, त्यसको जिम्मेवारी कसैले नलिने यसका कारण नागरिकलाई सास्ती भइरहने, पूर्वाधार भत्किने क्रम नरोकिने अवस्थाका विषयमा छलफल गर्दै बैठकले यस्तो निर्णय गरिएको हो ।
काठमाडौँमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयको खानेपानी पाइप लाइन विस्तार र परीक्षण, विद्युत प्राधिकरणको भूमिगत तार सञ्जाल निर्माण, नदी किनाराको करिडोर निर्माण, अण्डरपास सञ्चालन, चक्रपथ सुधार, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका काम धेरै देखिन्छन् । सडकमा अलपत्र देखिने काम पनि यी कार्यालयसँगै सम्बन्धित छन् ।
बैठकमा सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण र खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुखहरुलाई बोलाइएको थियो ।
बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विगतमा भएका बैठकबाट नतिजामापन गर्न सकिने उपलब्धी हासिल नभएको विषयलाई ध्यानमा राखेर छलफल गर्न प्रस्ताव गर्नुभएको थियो ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App