Logo

अनुगमनका क्षेत्र र टोली प्रस्ताव 

अनुगमनका क्षेत्र र टोली प्रस्ताव 

काठमाडौँ । योजना अनुगमन तथा मूल्याङ्कन एकाईले काठमाडौँ महानगरपालिकाको चालु आर्थिक बर्षका लागि अनुगमनका क्षेत्र र टोली प्रस्ताव गरेको छ । उपप्रमुखको संयोजकत्वमा रहेको योजना अनुगमन तथा मूल्याङ्कन समितिको साप्ताहिक समीक्षा बैठकमा आज एकाईले क्षेत्र र टोली सम्बन्धी प्रस्ताव गरेको हो ।

बैठकमा उपप्रमुख एवं समितिकी संयोजक सुनिता डंगोलले, अनुगमन र निरीक्षणका कामलाई सँगै लैजानु पर्ने बताउनुभयो । ‘हामीलाई नतिजा चाहिएको छ । यसका लागि काम गर्नोस् ।’ उहाँको भनाइ थियो । 

बैठकमा एकाईका प्रमुख नरेन्द्रविलास बज्रचार्यले, सूचक निर्माण गरेपछि मात्र प्राविधिक क्षेत्रको अनुगमन गर्न सकिने धारणा राख्नुभयो । 

एकाईका उपनिर्देशक प्रहलाद घिमिरेकाअनुसार २५ वटा स्वर्णिम र १० वटा गौरवका योजनाको अनुगमनको लागि छुट्टै अनुगमन टोली प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार अनुगमन टोलीले सार्वजनिक निर्माण विभाग र आयोजनाहरु हेर्न प्रस्तावमा उल्लेख छ । सम्पदा टोलीले सम्पदा तथा पर्यटन विभागका योजना, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका काम सामाजिक विकास अनुगमन टोलीले हेर्न प्रस्ताव गरिएको छ ।
 
वातावरण तथा विपद व्यवस्थापन अनुगमन टोलीले वातावरण र विपद् व्यवस्थापन विभाग तथा हरियाली प्रवर्धन आयोजना हेर्न प्रस्ताव गरिएको छ । सुशासन अनुगमन टोलीलाई माथि उल्लेख नभएका बाँकी सबै विभागको कार्यलाई समेट्ने गरी प्रस्ताव गरिएको छ । 

यी टोलीहरुमा इञ्जिनियरसहित वित्त, प्रशासन, कानुनलगायत विभागका प्रतिनिधिको प्रस्ताव गरिएको छ । 

यससँगै बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले दैनिक उपभोग्य बस्तुको बजार, मूल्य, गुणस्तर, नापतौल, उपभोग्य अवधि लगायत विषय हेर्नेछ ।

  • प्रकाशित मिति: आइतबार​ १७ भदौ २०८० १८:४२