Logo

वडाध्यक्ष रिजालको निधनमा कार्यपालिका बैठकबाट शोक प्रस्ताव पारित : १३ औँ पुण्य स्मृतिमा श्रद्धाञ्जली सभा गरिने 

वडाध्यक्ष रिजालको निधनमा कार्यपालिका बैठकबाट शोक प्रस्ताव पारित : १३ औँ पुण्य स्मृतिमा श्रद्धाञ्जली सभा गरिने 

काठमाडौँ । वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको निधनप्रति काठमाडौँ महानगरपालिकाको २२ औँ कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै १३ औँ पुण्यतिथिका दिन असोज २ गते राष्ट्रिय सभा गृहमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा स्वर्गीय रिजालको स्मृतिमा १ मिनेट मौन धारण गरिएको थियो । 

शोक प्रस्ताव राख्दै प्रमुख शाहले, स्व. रिजालको राजनीतिक तथा सामाजिक जीवन र मानव अधिकारलगायतका क्षेत्रमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्दै भन्नुभयो, ‘स्व. रिजालले गर्नुभएको अठोट र देख्नु भएको सपना पूरा गर्ने दायित्व हाम्रो काँधमा आएको छ । स्पष्ट वक्ता रिजालको निधनले महानगरपालिकालाई ठूलो क्षति भएको छ । क्षति पूरा गराउन कठिन छ । तर, उहाँले देख्नुभएका सपना पूरा गराउन सक्छौँ ।’

दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित हुनु, उहाँ र जनता विचको आत्मीय सम्बन्धको बिम्ब हो । हामीले एक कुशल नेतृत्वकर्ता जनप्रतिनिधि गुमायौँ । बैठकमा उपप्रमुख सुनिता डंगोलले, मैत्रीभाव, स्पष्टवक्ता रिजाल मानव अधिकारका क्षेत्रमा मात्र होइन, पशु अधिकारको अगुवा भएको धारणा राख्नुभयो । बालाजु वाइसधारालगायत सहरबासी सबैको हितमा काम गर्ने उहाँका सपना पूरा गराउन सबै लाग्नु पर्ने धारणा राख्नुभयो ।   

विधिको पालना, सामाजिक सहभागितामुलक विकास, फोहोर व्यवस्थापन, विपद व्यवस्थापनलगायत क्षेत्रमा काम गरेर सहरबासीलाई प्रत्यक्ष लाभ हुने काम गर्नु पर्छ भनेर स्पष्ट आवाजमा धारणा राख्ने सहकर्मी गुमाएको धारणा राख्दै प्रवक्ता नविन मानन्धरले, जनप्रतिनिधि र कर्मचारी नङ् र मासु जस्तै भएर नागरिकको सेवामा काम गरे मात्र उहाँको आत्माले शान्ति पाउने धारणा राख्नुभयो । 

२०७४ सालदेखि म उहाँसँग नियमित प्रत्यक्ष सम्पर्कमा रहेँ । चमती आयोजनामा उहाँको र मेरो वडामा पर्छ । वडाध्यक्षका रुपमा सहकर्मी भएर र आयोजना सम्पन्न गर्न वडाको अभिभावकका रुपमा काम गर्दा उहाँको स्पष्ट बोल्ने बानीबाट म प्रभावित थिएँ । रिजालसँगको सम्बन्धका विषयमा कुरा गर्दै वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, सबैसँग नजिक सम्बन्ध राख्न सक्ने उहाँको क्षमता हामीले पनि सिक्नु पर्ने पक्ष भएको बताउनुभयो । विषयप्रति स्पष्ट भएपछि मात्र उहाँले निर्णय लिनुहुन्थ्यो । आफ्नै नेताका विषयमा खुलेर बोल्न सक्नुहुन्थ्यो । डंगोलले रिजालको व्यक्तित्वका विषयमा कुरा गर्नुभयो । 

उहाँले एजेन्डा पाउनुभयो भने खुरुखुरु बोल्नुहुन्थ्यो । विषयमा द्विविधा हुँदैनथ्यो । उहाँसँगका स्मरण सुनाउँदै वडा ३२ का अध्यक्ष नवराज पराजुलीले भन्नुभयो, ‘हामीले बनाएका योजना र देखेका सपना पूरा गर्न नपाउँदै उहाँलाई गुमाउनु प¥यो । यसबाट गहिरो क्षति पुगेको छ ।’

रिजालको निधनले महानगरपालिकाको नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा ठूलो क्षति पुगेको छ । शोक प्रस्तावमाथि बोल्ने कार्यपालिका सदस्यहरुले भावुक हुँदै, उहाँका सपना पूरा गराउन लाग्नु पर्ने धारणा राख्नुभयो । 

कमजोरीलगायत समस्या महसुस भएपछि भदौ १७ गते रिजाललाई उपचारका लागि अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) देखिएपछि सघन उपचार कक्षमा उहाँको उपचार थालियो । उपचारकै क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक/एक्युट किड्नी इन्ज्युरीका कारण भदौ २१ गते विहान ७ बजेर ३० मिनेटमा उहाँको निधन भयो । 

स्व. रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक पनि हुनुहुन्थ्यो । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट उहाँ वडा १६ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । अघिल्लो कार्यकालमा पनि उहाँ वडाध्यक्षकै रुपमा रुपमा निर्वाचित हुनुहुन्थ्यो । 

रिजाल २०२७ साल कार्तिक १८ गते धादिङ् जिल्लामा जन्मिनुभएको थियो । उहाँ बुबाआमा, श्रीमती र छोराहरुसँग बस्दै आउनुभएको थियो । 

तस्विर : विनय शाक्य 

 

  • प्रकाशित मिति: आइतबा​ ३१ भदौ २०८० १६:२४