Logo

जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आउनु भएका अतिथिहरुलाई स्वागत गर्नुभएको छ । उहाँहरुको सम्मानमा महानगरपालिकाले स्वागत कार्यक्रम आयोजना गरेको थियो । 

महानगरपालिकाको निमन्त्रणामा यँया (इन्द्रजात्रा) अवलोकनका लागि ३ वटा देशका ५ वटा नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौँ आउनु भएको छ । यस्तै आन्तरिक भगिनी सम्बन्ध भएका सहरहरुबाट प्रमुखसहित प्रतिनिधिहरु आउनुभएको छ । 

मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो । 

 

सम्पदा मार्गको अवलोकन 
आज विहान बसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भयो । उहाँहले आज नै सुरु हुने कुमारी रथ यात्राको अवलोकन गर्नुहुनेछ । 

भोलि भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यसपछि आर्ट ग्यालेरीको अवलोकन हुनेछ । भोलि नै हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइनेछ । १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ । असोज १४ गते उहाँहरु स्वदेश फर्कनुहुनेछ ।   

जात्रा कार्यक्रमअन्तर्गत आजबाट रथ यात्रा सुरु हुनेछ । आज दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ । यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा रहेको छ ।  

भोलि माथिल्लो टोल (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । रथ यात्राका समयमा पञ्चवुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ । 

२०८० आश्विन १५ गते नानीचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस बर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन् । 

यसरी ३ दिन हुने रथ यात्राका क्रममा पर्ने रुटहरुमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजा आजा गर्ने गर्छन् । 

 

  • प्रकाशित मिति: बिहीबार ११ असोज २०८० १२:३६