Logo

अतिथिसँगै प्रमुख, उपप्रमुख हाँडीगाउँको सांस्कृतिक कार्यक्रममा सहभागी

अतिथिसँगै प्रमुख, उपप्रमुख हाँडीगाउँको सांस्कृतिक कार्यक्रममा सहभागी

काठमाडौँ । यँयाः (इन्द्रजात्रा) अवलोकन गर्न आउनुभएका विदेशी तथा स्वदेशी पाहुनासँगै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोल हाँडीगाउँको सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा सहभागी हुनुभयो । यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित जनप्रतिनिधि सहभागी हुनुभएको थियो । 

अतिथिहरुलाई वडाध्यक्ष वीरेन्द्र प्रजापतिसहित वडा सदस्यहरुले स्वागत गर्नुभएको थियो । यस्तै परम्परागत पोशाकमा सजिनुभएका महिलाहरुले सगुन (बारा, माछा, प्याला), टीका, फूल र कोखा लगाइदिनुभएको थियो ।

डबली चोक नजिक समयबजी राखिएको थियो । अतिथिहरु पुगेपछि लाखेले समय होली गरेको थियो । यसपछि प्रसाद बाँडिएको थियो । 

त्यस अवसरमा माटाको भाँडा बनाउने, सुकुल बुन्ने, मौलिक खानाको कलाका रुपमा यमरीलाई विभिन्न आकारमा बनाइए तयार पार्ने र पकाउने कला प्रदर्शन गरिएको थियो । परम्परागत जीवन कला देखाउने खुर्सानीको माला, लसुनको माला बनाएर सुकाएको थियो ।  परम्परागत खेलहरुमा गट्टी (एकंन्धाला), डोरी (छिंप) खोपी (व्हाग्रा) प्याँ, बाघचालजस्ता खेल खेलाइएको थियो । 

कार फ्री फ्राइडे र यँयाः (इन्द्रजात्रा) को सन्दर्भमा कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै वडाध्यक्ष प्रजापतीले, मौलिक सहरमा रुपान्तरण गर्ने अभियान स्वरुप हरेक शुक्रबार सवारी प्रवेध निषेध कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । 

नेपाल लिपी गुठीसँगको सहकार्यमा क्यालीजात्रा रञ्जना लिपी लेखन गरिएको थियो । उहाँहरुले सबै अतिथिको नाम रञ्जना लिपीमा लेखेर प्रदान गर्नुभएको थियो । सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रीजु प्रधानले, रञ्जना लिपीमा लेखिएको नाम पाएपछि अतिथिहरुले लिपीको विशेषताका विषयमा जिज्ञासा राख्नुभएको थियो ।   

पाहुनाहरुलाई लोक बाजागाजासहित प्रदर्शनी स्थलको अवलोकन गराइएको थियो । लोक परम्परामा आधारित नाच तथा गायन र दबू प्याखँ (नाटक) मञ्चन गरिएको थियो । 

 

  • प्रकाशित मिति: शनिबार १३ असोज २०८० १८:५५